सडकमा निस्किएर काठमाडौं सीडीओले गरे निषेधाज्ञा अनुगमन

सफल खबर संवाददाता

विहीबार, ३० बैशाख २०७८, १७ : १८
सडकमा निस्किएर काठमाडौं सीडीओले गरे निषेधाज्ञा अनुगमन

काठमाडौं । कोभिड नियन्त्रण तथा रोकथाम समन्वय समिति काठमाडौंले विहीबार सवारी अनुगमन गरेको छ ।काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको नेतृत्वमा जिल्लास्थित सुरक्षा निकायका अधिकारीसहितको टोलीले सवारी आवागमनको स्थलगत निरीक्षण गरेको हो ।

निषेधाज्ञामा काठमाडौंका सडकमा उल्लेख्य मात्रामा सवारी साधन सञ्चालन हुन थालेपछि सवारी पासको दुरुपयोगको अनुसन्धान गर्न टोली स्वयम सडकमा निस्किएको हो ।अनुगमनको क्रममा सवारी पासको दुरुपयोग गरेको पाईएको महानगरिय प्रहरी परिसर प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए ।

सवारी साधनहरुले अस्पतालको पास अगाडि राख्ने र भित्र अरु नै सामाग्री राखेर सुरक्षा निकायलाई झुक्याएको भेटिएको उनले बताए।सुरक्षाकर्मीलाई झुक्याएर सवारी पासको दुरुपयोग गर्ने र अनावश्यक रुपमा आवागमन गर्नेहरुमाथि चेकजाँच गरी कारवाही गरिने उनले बताए ।

सीडीओ पराजुलीले उपत्यकामा जारी निषेधाज्ञालाई थप कडाई गरिने बताए । उनका अनुसार आजदेखि अत्यावश्यक बाहेकका जिल्लास्तरिय कार्यालय बन्द गरिएको जनाए । उनले निषेधाज्ञालाई प्रभावकारी बनाउन कडाइका साथ अनुगमन गर्ने बताए ।

सुरक्षा निकायका अधिकारीसहितको जिल्ला प्रशासन कार्यालय काठमाण्डौको टोलीले भद्रकाली, थापाथली, त्रिपुरेश्वर, कालिमाटी, कलंकी, कोटेश्वर, नयाँबानेश्वर बबरमहल, सोह्रखुट्टे लगायत स्थानको अनुगमन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस