स्वर्ण महोत्सवको तयारीमा आधारभुत विद्यालय सुन्दरबस्ती

सोमबार, १९ चैत्र २०७४, १६ : ०३
स्वर्ण महोत्सवको तयारीमा आधारभुत विद्यालय सुन्दरबस्ती

चितवन । भरतपुर महानगरपालिका वडा नम्बर १४ मा २०२४ सालमा स्थापना भएको आधारभुत विद्यालय सुन्दरबस्ती स्वर्ण महोत्सवको तयारीमा जुटेको छ । विद्यालयले आज सोमबार विद्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी स्वर्ण महोत्सवबारे जानकारी दिएको हो ।
स्वर्ण महोत्सव मूल आयोजक समितिका संयोजक गंगाबहादुर गौतमले चैत २३ गतेदेखि विभिन्न कार्यक्रमको आयोजना गरी सुरु हुने स्वर्ण महोत्सवको समापन चैत २९ गते हुने जानकारी दिनुभयो । चैत २९ गते हुने मूल समारोहको समुद्घाटन पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्नुहुने कार्यक्रम रहेको छ ।
स्थापनाकालमा तीन कक्षासम्ममात्र पढाई हुने यस विद्यालयमा अहिले कक्षा आठसम्मको पढाई हुन्छ । विद्यालयमा सवा दुई सय जना विद्यार्थी, १५ जना शिक्षक एवं कर्मचारी रहेको प्रधानाध्यापक भोजराज पौडेलले जानकारी दिनुभयो । स्वर्ण महोत्सवको अवसरमा चैत २३ गते अतिरिक्त क्रियाकलाप, २४ गते अभिभावकबीच खेलकुद, २७ गते निमाविस्तरीय वक्तृत्वकला प्रतियोगिता लगायतका कार्यक्रम हुने प्रचार प्रसार उपसमिति संयोजक कृष्णराज भण्डारीले जानकारी दिनुभयो ।
आर्थिक उपसमिति संयोजक खेम भट्टले विद्यालयको आन्तरिक स्रोत र चन्दादाताको सहयोगबाट स्वर्ण महोत्सव सम्पन्न गर्न लागिएको जानकारी गराउनु भयो । विगतमा आयोजिकत महायज्ञबाट संकलित ७८ लाख, भरतपुर महानगरपालिकाबाट प्राप्त पाँच लाख, चौध नम्बर वडा कार्यालयबाट प्राप्त एक लाख ७८ हजार रुपैयाँबाट महोत्सवको खर्च व्यवस्थापन गर्न लागिएको उहाँले बताउनु भयो । विद्यालयको स्वर्ण मञ्चका लागि पटिहानी निवासी समाजसेवी विमलसिंह ठकुरीले चार लाख एक हजार रुपैयाँ सहयोग गर्नु हुने आर्थिक संयोजक भट्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस