उपेन्द्र यादवविरुद्द महन्थ ठाकुर निर्वाचन आयोगमा

सफल खबर संवाददाता

शुक्रबार, १७ बैशाख २०७८, १६ : ०८
उपेन्द्र यादवविरुद्द महन्थ ठाकुर निर्वाचन आयोगमा

काठमाडौं । लुम्बिनी प्रदेशका ४ जना सांसदलाई पदमुक्त गर्ने निर्णय गैरकानूनी भन्दै जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर शुक्रवार निर्वाचन आयोग पुगेका छन् ।

ध्यानकर्षणपत्र लिएर आफैं आयोग पुगेका ठाकुरले गैरकानूनी पत्रलाई आधार मानी कुनै पनि काम कारवाही अघि नबढाउन लिखित आग्रह गरेका छन् ।

ठाकुरले जसपा नेपालको कार्यकारिणी समितिको बैठक २०७७ पुस ७ गतेपछि हालसम्म नबसेको भन्दै लुम्बिनी प्रदेश सचिवालयको सूचनापत्रमा उल्लेखित चार सांसदको प्रदेश सभा सदस्य र पार्टी सदस्यबाट निष्कासन गरेको व्यहोरा प्रथम दृष्टीमै अवैध रहेको बताएका छन् ।

ठाकुरले गैरकानूनी पत्र एवं सोसँग सम्बन्धी अन्य पत्र तथा निर्णयसमेत बदरका लागि यथाशीघ्र कानूनी प्रक्रिया अघि बढाइने आयोगलाई जानकारी दिएका छन् । अध्यक्ष ठाकुरले कार्यकारिणी समितिको बैठक नबसेको र बोलाउन समेत कुनै सूचना जारी नगरेको बताएका छन् ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले कार्यकारिणी समितिको निर्णय भनेर पठाएको पत्रका आधारमा प्रदेश सभाले सन्तोषकुमार पाण्डेय, विजयवहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेयलाई पदमुक्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस