शीतभण्डार प्रयोगमा आएपछि कृषकलाई राहत

सफल खबर संवाददाता

शुक्रबार, १७ बैशाख २०७८, १४ : २२
शीतभण्डार प्रयोगमा आएपछि कृषकलाई राहत

सांकेतिक तस्विर

पाल्पा । पाल्पाको रामपुर नगरपालिकामा जिल्लामै सबैभन्दा ठूलो क्षमताको शीतभण्डार निर्माण गरिएपछि कृषकलाई राहत भएको छ । स्थानीयस्तरमा उत्पादन हुने कृषिजन्य उपज सुरक्षित साथ भण्डारण गरेर राख्न कृषि शाखाको परिसरमा शीतभण्डार निर्माण गरी बुधबारदेखि सञ्चालनमा ल्याइएको हो ।

लुम्बिनी प्रदेश सरकारको सशर्त अनुदानमा रु तीन करोड २६ लाख ७६ हजार ५६६ मा बनेको शीतभण्डारमा फरकफरक क्षमताका पाँच कोठा छन् । दुईतले दश कोठासहितको प्रशासनिक भवन निर्माणाधीन र  अपाङ्गमैत्री शौचालय निर्माण भइसकेको छ ।

यहाँ उत्पादित आलु खेतीलाई ध्यानमा राखेर मुख्य भवन निर्माण सम्पन्न गरी शीतभण्डार अहिले चालु गरिएको नगरपालिकाका सूचना अधिकारी रामहरि पाण्डेयले बताए । तीन सय मेट्रिक टन क्षमताको भए पनि हाल भने १५० मेट्रिक टन क्षमताको कृषि उपज भण्डारण हुने अनुमान लिइएको छ । “अहिले कृषकका घरघरमा आलु मात्र रहेको छ, अन्य उपज तत्काल भण्डारण गरिनुपर्ने अवस्था देखिएको छैन, आलुको बीउ भण्डारणका लागि कृषकले ल्याइराख्नुभएको छ”, कृषि शाखा प्रमुख पाण्डेय भने । 

आर्थिक वर्ष २०७५/०७६ मा लुम्बिनी प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले विभिन्न स्थानीय तहलाई प्रस्तावना माग गरेअनुसार रामपुरले पनि प्रस्ताव पेश गरेको थियो । यहाँ गोलभेँडा, काउली, बन्दा  र  लहरेबाली प्रशस्त उत्पादन हुन्छ ।  उत्पादित कृषि उपज सुरक्षित साथ राख्ने ठाउँको व्यवस्थापन नहुँदा कृषकले लागतअनुसारको मूल्य नपाएको अवस्था छ ।

बुटवल, भैरहवालगायत बाहिरी बजारबाट रामपुरमा भित्रिएका तरकारी निरुत्साहन गर्न र स्थानीय उत्पादनलाई प्राथमिकता दिन शीतभण्डार निर्माण गरी नगरपालिकाले सञ्चालनमा ल्याएको हो । नगरपालिकाले दशवटै वडामा एक वडा एक उत्पादन नीतिअनुरुप कृषि बाली शुरु गरेको  नगर प्रमुख रमणबहादुर थापाले बताए। 

नगरपालिकामा मात्रै यस वर्ष आलु ब्लक कार्यक्रम सञ्चालन भएकाले पनि धेरै उत्पादन भएको छ । नगरभित्र करीब पाँच हजार रोपनी क्षेत्रफलमा चार हजार टन आलु उत्पादन भएको कृषि शाखाका प्राविधिक प्रज्वल केसीले जानकारी दिए ।  जिल्लामा यसअघि रम्भा गाउँपालिकामा २५ मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण भई सञ्चालनमा आइसकेको छ । 

प्रतिक्रिया दिनुहोस