चितवन कारागारबाट छुटेका वीरजंगलाई नवलपरासी अदालतमा पठाईयो

सफल खबर संवाददाता

शुक्रबार, १७ बैशाख २०७८, १३ : ३०
चितवन कारागारबाट छुटेका वीरजंगलाई नवलपरासी अदालतमा पठाईयो

चितवन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का दाजु चन्द्रबहादुर चन्द ‘वीरजंग’ जिल्ला कारागार चितवनबाट रिहा भएका छन् ।जिल्ला अदालत नवलपरासीको आदेशमा उनलाई कारागारमुक्त गरिएको चितवन कारागारका प्रमुख जेलर कमलप्रसाद काफ्लेले जानकारी दिए ।

उनलाई शुक्रबार नै जिल्ला अदालत पश्चिम नवलपरासी समक्ष बुझाइएको छ । ‘हाम्रा साथीहरुले उहाँलाई नवलपरासी सुस्ता पश्चिमको अदालतमा छाडेर आउनुभयो,’ जेलर काफ्लेले भने ।पहिला २५ हजार रुपैयाँ धरौटी बुझाएर छुट्न नमानेका वीरजंग अहिले सोही धरौटीमा रिहा भएको कारागारका प्रमुख जेलर काफ्लेले बताए ।

स्वास्थ्यमा समस्या देखिएपछि भरतपुरमा उपचारका लागि भनेर उनलाई २०७७ असोज २८ गते चितवन कारागारमा ल्याइएको थियो । अघिल्लोपटक कोभिडसमेत भएर कमजोर बनेका वीरजंगलाई घाँटी र पेटमा समेत समस्या आएको थियो । जेलर काफ्लेका अनुसार वीरजंगलाई भरतपुर अस्पतालमा राखेर उपचार गरिएको थियो ।

बम विस्फोटको मुद्दामा कारागार चलान भएका वीरजंग सामान्य अन्य कैदीसरह नै बसेको र सामान्य व्यवहार गरेको जेलर काफ्लेले बताए । ‘उहाँले जाने बेलामा धन्यवाद नै दिएर जानुभयो, बीचमा विप्लव पनि भेट्न आउनुभएको थियो,’ जेलर काफ्लेले भने, ‘हामीले सामान्य ढंगले नै नियमअनुसार राखेका थियौं ।’

सरकार र नेकपा विप्लव समूहबीच शान्तिपूर्ण राजनीतिमा आउने सहमति भएपछि प्रहरी हिरासतमा रहेका नेकपाका नेता कार्यकर्ताहरु छुट्ने क्रम जारी छ ।यसअघि वीरजंगलाई विष्फोटक पदार्थ सम्बन्धी मुद्दामा बयानका लागि उपस्थित हुन रुपन्देही जिल्ला अदालतले २१ दिने सूचना जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस