नोबेल अस्पतालमा कोरोना संक्रमितको निःशुल्क उपचार

सफल खबर संवाददाता

विहीबार, १६ बैशाख २०७८, १९ : ४३
नोबेल अस्पतालमा कोरोना संक्रमितको निःशुल्क उपचार

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा अब कोरोना संक्रमितको उपचार निःशुल्क हुँने भएको छ । 

कोरोना संक्रमितको उपचार निःशुल्क गर्ने विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नोबेल अस्पतालबीच बिहिबार सम्झौता भएको हो ।

 सम्झौता पत्रमा स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा.गुणराज लोहनी र नोबेल अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा.भोगेन्द्रप्रसाद उपाध्यायले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार नोबेल अस्पतालमा कोरोना संक्रमितको उपचारमा लाग्ने खर्च स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ब्यहोर्ने छ ।

स्वास्थ्य मन्त्रालयसँग सम्झौता भएकाले अब जुनसुकै कोरोना संक्रमित नेपालीले नोबेलमा निःशुल्क उपचार पाउँने नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माले बताए । ‘कोरोना संक्रमितको उपचार निःशुल्क गर्ने विषयमा स्वास्थ्य मन्त्रालयसँग सम्झौता भएको छ,’ डा.शर्माले भने,‘अब जुनसकै नेपाली नागरिक कोरोना संक्रमित भएर आएमा नोबेलमा निःशुल्क उपचार पाउँनेछन् ।’

प्रतिक्रिया दिनुहोस