क्रिकेट रंगशालाबारे उपप्रधानमन्त्री पोखरेलको चासो, धुर्मुसलाई भेटेर लिए जानकारी

सफल खबर संवाददाता

विहीबार, १६ बैशाख २०७८, १८ : ३७
क्रिकेट रंगशालाबारे उपप्रधानमन्त्री पोखरेलको चासो, धुर्मुसलाई भेटेर लिए जानकारी

काठमाडौं । उप प्रधानमन्त्री ईश्वर पोखरेलले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाबारे चासो लिएका छन् ।रंगशाला निर्माणका अभियन्ता एवं धुर्मस सुन्तली फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’लाई विहिबार सिंहदरबारस्थित कक्षमा भेट्दै पोखरेललेअन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा भइरहेका प्रगति र सरकारले गर्न सक्ने सहयोगका विषयका छलफल गरेका थिए ।

उपप्रधानमन्त्रीले प्रेरणादायी, प्रसंशनीय कार्य गरेको भन्दै धुर्मस सुन्तली फाउन्डेशनको प्रशंसा गरे । ‘अनुकरणीय काम गर्नुभएको छ, जुन सपना देख्नुभयो, त्यसमा चुनौती पनि आउँछन्, तर दृढतापूर्वक लाग्नुपर्छ, सबै उठेका प्रश्नको जवाफ कामले दिनुपर्छ’ पोखरेलले भने ।

उनले राज्यका तर्फबाट रंगशालालाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि यसबारे छलफल गर्ने जनाए ।

उप प्रधानमन्त्रीले भेट्न बोलाएर रंगशालाको बारेमा चासो लिएपछि धुर्मुस भावुक बनेका थिए । आफू राज्यलाई सघाउने अभियन्ता भएको भन्दै धुर्मुसले टुहुरो जस्तो भएको बेला आफैले बोलाएर चासो लिएकामा उपप्रधानमन्त्रीलाई धन्यवाद दिए ।

‘बल्ल सरकार छ, राज्य छ भन्ने महसुस भयो, नत्र साँच्चिकै टुहुरो महसुस भएको थियो । हामीले निकै पीडा भोग्यौं, धेरैपटक बुढाबुढी रोएका छौं’’ धुर्मुसले पीडा सुनाए ।

अहिलेसम्म बिभिन्न क्षेत्र र दाताबाट ३३ करोड संकलन भएकोमा ४६ करोड भन्दा बढी खर्च भइसकेकाले १३ करोड ऋण रहेको जानकारी धुर्मुसले दिए । रकमको जोहो भए ६ महिनादेखि एक बर्षसम्ममा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तयार हुने उनले बताए ।

‘हाम्रो कुनै स्वार्थ छैन्, हामी विशुद्ध कलाकार हौं । जे गरेका हौं, राष्ट्रका लागि गरेका हौं । अन्तर्राष्ट्रियस्तरको सबै मापदण्ड पालना गरेर रंगशाला निर्माण गरिरहेका छौं । सहयोगी मनहरुको सदभावले अगाडि बढ्न धेरै ठूलो ऊर्जा लिइरहेको छ । त्यसैले कोरोनाको विषम परिस्थितिमा पनि काम रोकिएको छैन्’ धुर्मुसले भने ।

प्रतिक्रिया दिनुहोस