काठमाडौं । रोमाञ्चक खेलमा दिल्ली क्यापिटल्सलाई १ रनले हराउँदै रोयल च्यालेन्जर्स बैंगलोर इन्डियन प्रिमियर लिग आईपीएल टी–२० क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।
मंगलबार भएको खेलमा बैंगलोरले दिएको १७२ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १७० रन मात्र बनाउन सक्यो ।कप्तान ऋषभ पन्त र शिमरोन हेतमायरले अर्धशतक बनाए पनि जित दिलाउन सकेनन् ।
अन्तिम ओभरमा दिल्लीलाई जितका लागि १४ रन चाहिएको अवस्थामा यी दुई खेलाडीले १२ रन मात्र जोडे ।अन्तिम ओभरको सुरुवाती चार बलमा चार रन मात्र जोडेको दिल्लीका लागि अन्तिम दुई बलमा खेल जित्न १० रन चाहिएको थियो । ऋषभले लगातार दुई चौका प्रहार गरे पनि पर्याप्त भएन ।
४८ बल खेलेका कप्तान पन्तले ढिला ब्याटिङ गर्दै ६ चौका मद्दतमा अविजित ५८ रन बनाए । अर्कोतर्फ आक्रामक ब्याटिङ गरेका हेतमायरले २५ बल खेल्दै २ चौका र ४ छक्का मद्दतमा अविजित ५३ रन जोडे । यस्तै मार्कुस स्टोनिसले २२ र पृथ्वी शले २१ रन बनाए ।
बैंगलोरका हर्सल पटेलले २ विकेट लिए भने मोहमद सिराज र केल जेमिसनले समान १ विकेट लिए ।त्यसअघि अहमेदावादमा टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७१ रन बनाएको थियो ।
एबी डे भिलियर्सले कागिसो रबाडाले बलिङ गरेको अन्तिम ओभरमा ३ छक्कासहित २२ रन जोडेपछि बैंगलोरले राम्रो स्कोर बनाएको थियो । उनले ४२ बल खेल्दै ३ चौका र ५ छक्का मद्दतमा अविजित ७५ रन बनाए । यस्तै रजत पाटीदरले ३१ र ग्लेन म्याक्स्वेलले २५ रन जोडे ।दिल्लीका इशान्त शर्मा, कागिसो राबडा, अभेस खान, अमित मिश्रा र अक्षर पटेलले १–१ विकेट लिए ।
जितपछि ६ खेलबाट १० अंक जोडेको बैंगलोर शीर्ष स्थानमा उक्लेको छ । ६ खेल खेल्दा दोस्रो हार व्यहोरेको दिल्ली ८ अंकसहित तेस्रो स्थानमा छ । दिल्लीसँग समान अंक भए पनि चेन्नाई सुपर किंग्स रनरेटमा अगाडि रहँदै दोस्रो स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १५ बैशाख २०७८, १२ : १२
लेखकबाट थप