भेरी अस्पतालका ७० स्वास्थ्यकर्मीलाई कोरोना

सफल खबर संवाददाता

बुधबार, १५ बैशाख २०७८, ०७ : ४३
भेरी अस्पतालका ७० स्वास्थ्यकर्मीलाई कोरोना

नेपालगन्ज । भेरी अस्पताल नेपालगन्जमा कार्यरत ७ चिकित्सकसहित ७० जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् । ओटी, इमर्जेन्सी, पारामेडिक, आईसीयूमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना लागेको हो । जसमा ७ जना इमर्जेन्सीमा कार्यरत चिकित्सक छन् । 

‘हामीले नर्मल बिरामीलाई भर्ना लिएकै छैनौं,’ डा राजन पाण्डेले भने, ‘बिरामीले बेड नपाइरहेको अवस्थामा चिकित्सकले अस्पतालमा बस्ने कुरा भएन ।’ अस्पतालमा कोभिड बिरामीका लागि २ सय बेड बनाइएको छ । वार्डका कुनाकाप्चामा समेत बेड थपेर बिरामीको उपचार भइरहेको छ । ‘सामग्रीको अभाव त खासै छैन । प्रमुख कुरा जनशक्ति अभाव हो,’ अस्पताल प्रमुख डा प्रकाश थापाले भने, ‘महामारी सुरु भएदेखि नै कम जनशक्ति अनि स्रोतसाधनको अभावका बीच स्वास्थ्यकर्मीले काम गर्न छाडेका छैनन् ।’ अस्पतालमा हाल करिब ४ सय स्वास्थ्यकर्मी कार्यरत छन् ।

गत वर्ष कोरोना उपचारका लागि छुट्याइएका चिकित्सक तथा नर्सले निरन्तर काम गरिरहेका छन् । संक्रमित भएपछि आइसोलेसनमा बस्ने र निको भएपछि फेरि उनीहरू काममै फर्किने गरेका छन् । ‘अस्पतालभित्र काम गर्ने स्वास्थ्यकर्मी र चिकित्सक ढिलोचाँडो संक्रमित हुने सम्भावना भइहाल्छ,’ कोभिड वार्डकी नर्सिङ इन्चार्ज शिला शर्माले भनिन्, ‘बिरामी नछोएर उपचार सम्भव छैन । बिरामीलाई कसरी बचाऊँ भन्ने मनोविज्ञानले काम गरिरहेका हुन्छौं ।’ अस्पतालमा मास्क, पीपीई, पन्जालगायत सामग्री भने पर्याप्त छैनन् ।

अस्पतालमा भर्ना भएका कोभिडका बिरामीमध्ये ६० जना आईसीयूमा छन् भने १० जना भेन्टिलेटरमा छन् । बाँकेमा मंगलबारमात्रै ६ सय ३१ जनामा संक्रमण पुष्टि भएको छ । अस्पताल थप भर्ना लिन सक्ने अवस्थामा छैन । त्यस्तै, नेपालगन्ज मेडिकल कलेज कोहलपुरका ३० जना स्वास्थ्यकर्मी संक्रमित छन् । बेड अभावका कारण सबै स्वास्थ्यकर्मी होम आइसोलेसनमा बसिरहेका छन् । ‘एक चिकित्सक क्रिटिकल अवस्थामा रहेकाले अस्पतालमा उपचारमा हुनुहुन्छ,’ अस्पतालका उपनिर्देशक डा दिनेश श्रेष्ठले भने, ‘यो संख्या थप बढ्न सक्छ ।’


 

प्रतिक्रिया दिनुहोस