कोरोना महामारीले निम्त्याएको अर्थ सङ्कट टार्न यार्सागुम्बा सङ्कलन खुला

रासस

सोमबार, १३ बैशाख २०७८, १६ : ३३
कोरोना महामारीले निम्त्याएको अर्थ सङ्कट टार्न यार्सागुम्बा सङ्कलन खुला

मनाङ । कोरोना महामारीले निम्त्याएको अर्थ सङ्कट टार्न हिमाली जिल्लामा यार्सागुम्बा सङ्कलन शुरुआत हुने भएको छ । लामो समयसम्म कोरोनाले थलिएको अर्थतन्त्रलाई उकास्न  कठिन भएको र अमूल्य जडिबुटीलाई  यसै खेर जान नदिन जडिबुटी सङ्कलन गर्न लागिएको हो ।

यसका लागि अन्नपूर्ण संरक्षण क्षेत्रले अनुमति प्रदान गरेको छ । यहाँको आर्थिक अवस्था उकास्न यार्सा सङ्कलन पूर्जी खुला गरिएको हो । यस क्षेत्रले जिल्लाका  विभिन्न खर्कमा सङ्कलनका लागि पूर्जी रकम छुट्ट्याएको छ । नाम्के खर्कका लागि रु २० हजार, ङिस्याङ रु २० हजार र  नार फु भ्यालीका लागि ३० हजार छुट पूर्जी रकम उल्लेख गरिएको छ ।

गत वर्ष कोरोनाले बन्दाबन्दी भएकाले  यस क्षेत्रले जडिबुटी सङ्कलन रोक लगाएको सो संरक्षण क्षेत्रका प्रमुख लेखनाथ गौतमले जानकारी दिए । उनका अनुसार कोरोना जोखिम बढ्दै जाँदा आर्थिक सङ्कट पनि बढेको हुँदा यस पटक भने जिल्लाभित्र बसोवास गर्नेका लागि मात्र खुला गरिएको हो । कोरोना जोखिम बढ्न सक्ने जनाउँदै बाहिरी जिल्लामा भने  बन्देज लगाइएको उनले जानकारी दिए ।  

जिल्लामा रहेका चार स्थानीय तहका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी कार्यालयलगायत स्थानीय सीएमसीको निर्णयानुसार जिल्लाका सबै क्षेत्रमा यार्सा सङ्कलन पूर्जी खोलिएको सीएमसी ताचैका अध्यक्ष याद घलेले जानकारी दिए । उनका अनुसार पर्यटन व्यवसाय ठप्प भएसँगै स्थानीयवासीको आर्थिक अवस्था आएको सङ्कट टार्नका लागि पनि सङ्कलन आवश्यक रहेको हो ।

जडिबुटी र पर्यटन व्यवसायमा निर्भर  यहाँका मानिस कोरोनाले पर्यटन व्यवसाय ठप्प भएसँगै दैनिकी चलाउन कठिन भएको जनाउँदै याममा यार्सा सङ्कलन गरेर जीविका चलाउन सकिने बताउँछन् । 

जडिबुटी सङ्कलन गर्दासमेत सुरक्षालाई ध्यान दिन जिप्रकाले अनुरोध गरेको छ । महामारीले कसैलाई पनि नछाड्ने हुँदा स्वास्थ्यको ख्यालसमेत गर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद लामिछानेले जानकारी दिए । 

उनले सङ्कलित जडिबुटी चोरी निकासी हुनसक्ने हुँदा जिप्रकाले आवश्यकतानुसार जिल्लाका सबै सुरक्षा निकाय प्रयोग गरिने बताए । 

जिल्लाबासीबाहेक बाहिरी जिल्लाका मानिसलाई सङ्कलनमा निषेध गरिएको छ । त्यस्तै खरीद बिक्रीका लागि पनि जिल्लाभित्रका सरकारले दिएको अनुमतिपत्र भएका मानिसलाई नै प्राथमिकतामा राखिएको  पनि उनले जानकारी दिए ।   सरकारको जडिबुटी खरिद ऐनअनुसारको अनुमतिपत्र हुनुपर्ने जनाइएको छ । 

समयमा सङ्कलन गर्न नसके यी जडिबुटी त्यसै बिलाएर जाने हुँदा सही समयमा सदुपयोग गर्न सकियो भने  जीवनस्तर उकासिन्छ । जिल्लाको आर्थिकस्तरसमेतमा यसले टेवा पुग्छ । 

हाल नाम्के खर्कमा सङ्कलन शुरु भएको सिएमसी ताचैका अध्यक्ष याद घलेले जानकारी दिए । उनका अनुसार जिल्लाका सबै खर्कमा एकै चोटि सङ्कलन भने हुँदैन । यो खर्क यामको पहिलो शुरु हुने खर्क हो भने नारफु खर्क यामको अन्तिम भएको उनले बताए । 

यही वैशाखको दोस्रो सातादेखि शुरु भएको सङ्कलन असार मसान्तसम्म रहने जनाइएको छ ।  यस अवस्थामा आपराधिक घटना हुन नदिन सुरक्षा व्यवस्थासमेत सुदृढ बनाइएको जिप्रकाले जनाएको छ ।चार गाउँपालिका रहेको  जिल्लामा चामे गाउँपालिकाबाहेक अरु गाउँपालिकामा यार्सागुम्बा सङ्कलन गर्ने खर्क  छन् ।

प्रतिक्रिया दिनुहोस