कम्युनिष्ट सरकारबाट विकृतिहरुलाई प्रश्रय दिने काम भएको छ : माधव नेपाल

सफल खबर संवाददाता

सोमबार, १३ बैशाख २०७८, ०७ : २१
कम्युनिष्ट सरकारबाट विकृतिहरुलाई प्रश्रय दिने काम भएको छ : माधव नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी एकताको पक्षमा लाग्न आह्वान गरेका छन् ।नेपालको पहिलो कम्युनिष्ट प्रधानमन्त्री तथा नेकपा एमालेका संस्थापक अध्यक्ष मनमोहन अधिकारीको २२ औँ स्मृति दिवसको अवसरमा एक सन्देश जारी गर्दै नेता नेपालले अहिले नेपाली जनताले ठूलो मौका दिएको कम्युनिष्ट सरकारबाट विकृति विसंगतिहरुलाई प्रश्रय दिने काम भएको उल्लेख गरेका छन् । 

 सामान्य किसान र गरीव परिवारले राहतको महसुस गर्न नसकेको अवस्थामा स्वर्गीय अधिकारीको अभाव झनै खड्किएको नेता नेपालको भनाइ छ । अहिले नेपाली जनताले ठूलो मौका दिएको कम्युनिष्ट सरकारबाट विकृति विसंगतिहरुलाई प्रश्रय दिने काम हुनु र सामान्य किसान र गरीव परिवारले राहतको महसुस गर्न नसकेको अवस्थामा स्वर्गीय अधिकारीको अभाव झनै खड्किएको छ’, नेता नेपालले भनेका छन्, ‘ मनमोहन स्मृति दिवसका अवसरमा उहाँले राष्ट्रिय स्वाधीनता, कम्युनिष्ट एकता र देश विकासमा पुर्याउनुभएको अतुलनीय योगदानको स्मरण गर्दै कम्युनिष्ट आन्दोलनको रक्षा, सत्य, न्याय, समृद्धि र नेकपा एमालेको एकताका पक्षमा लाग्न सम्पूर्ण नेता कार्यकर्ता र शुभेच्छुकहरुमा हार्दिक आव्हान गर्दछु ।’

 उनले मुलुक र कम्युनिष्ट आन्दोलनमा अधिकारीले योगदानको स्मरण गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण समेत गरेका छन् । अधिकारीको जन्म १९७८ सालमा काठमाडौंमा भएको थियो भने २०५६ साल वैशाख १३ गते निधन भएको थियो । अंग्रेज विरूद्धको भारतीय स्वतन्त्रता संग्राममा समेत भाग लिएका अधिकारीले २००३ सालमा बिराटनगरमा भएको ऐतिहासिक मजदुर आन्दोलनको नेतृत्व गरेका थिए ।सफल, इमान र निष्ठाका पर्याय मनमोहन कम्युनिष्ट नेता मात्रै नभइ एक लोकतान्त्रिक योद्धा पनि भएको स्मरण नेता नेपालले गरेका छन् । 

सबैले सधैं सम्झिने २०५१ सालको ९ महिने सरकारको नेतृत्व गर्दा उनको नेतृत्वमा एमालेले अवलम्वन गरेका नीतिको दीर्घकालीन परिणामले जनतामा मनमोहन एवम् नेकपा एमालेप्रतिको श्रद्धा कहिल्यै नमेटिने गरी बसेको  भन्दै नेता नेपालले अधिकारी शालिन र बौद्धिक व्यक्तित्व भएको पनि स्मरण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस