पार्टीको मुल प्रवाहमा फर्किन खनाल–नेपाल पक्षलाई एमालेको आह्वान

सफल खबर संवाददाता

शुक्रबार, १० बैशाख २०७८, १८ : ०६
पार्टीको मुल प्रवाहमा फर्किन खनाल–नेपाल पक्षलाई एमालेको आह्वान

काठमाडौं । नेकपा एमालेले नेता झलनाथ खनाल र माधव नेपाल पक्षीय नेताहरुलाई समानान्तर गतिविधि रोकेर पार्टीको मूल प्रवाहमा फर्किन आह्वान गरेको छ । शुक्रबार नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले जनप्रतिनिधिलाई पनि विगतको भूमिकाको आत्मसमीक्षा गर्दै पार्टीमा फर्किन आह्वान गरको हो ।

बैठकले पार्टीमा विना पूर्वाग्रह स्वागत गर्ने, सम्मान पूर्ण व्यवहार र उचित जिम्मेवारी दिइने पनि निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । समानान्तर गतिविधि नरोकिए कारबाही गरिने पनि उनको चेतावनी थियो । 

बैठकले निकट भविष्यमा हुने उप निर्वाचनको तयारीमा सम्पूर्ण रुपले तयार हुन पार्टीका सबै कमिटीलाई आह्वान गरेको छ । नयाँ भेरियन्टसहित कोरोना संक्रमण बढेकाले सरकारलाई थप प्रभावकारी कदमका लागि ध्यानाकर्षण गराएको प्रवक्ता ज्ञवालीले बताए ।

सबै नागरिकहरुलाई कोरोनाको विरुद्ध स्वास्थ्य सतर्कताको पालना गर्दै लडाई सफल पार्नको लागि आव्हान पनि गरिएको छ भने पार्टीका नेता, कार्यकर्तालाई स्थानीय तहसम्मै कोभिडविरुद्धको अभियानमा स्वयमसेवी भएर लाग्न भनिएको छ ।

बैठकले महाधिवेशन आयोजक कमिटीका सदस्यहरुको जिम्मेवारी बाँडफाँड समेत गरेको छ । महाधिवेशन आयोजक कमिटीका सदस्यहरुलाई भूगोल, विभाग र जन संगठनको विभिन्न जिम्मेवारी दिइएको हो । 

प्रतिक्रिया दिनुहोस