माधव नेपालले सुनाए ओलीसँगको दुई दिने वार्ताको फेहरिस्त, पहिलो दिन मन मिलेको दोस्रो दिन कसरी भाँडियो ?

सफल खबर संवाददाता

शुक्रबार, १० बैशाख २०७८, १३ : २६
माधव नेपालले सुनाए ओलीसँगको दुई दिने वार्ताको फेहरिस्त, पहिलो दिन मन मिलेको दोस्रो दिन कसरी भाँडियो ?

जनकपुरधाम । होटल मेरियटमा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच दुई दिने वार्ता भयो । उनीहरुबीच पहिलो दिन बुधबार दुई घन्टा र बिहीबार डेढ घन्टा वार्ता भयो । दोस्रो दिन भएको वार्तामा उनीहरुले उठेको धराहरा हेर्दै कुराकानी गरेका थिए । 

पहिलो दिनको वार्तामा केके भयो भन्ने कुरा त्यो दिन केही खुलेन । वार्ता सकारात्मक भएको खबरका समाचारहरु आउन थाले । जसका कारण कार्यकर्तामा उत्साह जागेको थियो । फेरि माधव नेपाल र केपी ओली सँगसँगै रहने संकेत देखिएको खबरहरु मिडियामा आउन थाले । 

माधव र ओलीबीच पहिलो दिनको दुई घन्टा वार्ता ज्यादै सकारात्मक भएको रहेछ । दुबैले कुराकानीको क्रममा मन माझाँमाझ गरेका रहेछन् । त्यो दिन दुबै नेताले मिडिया सामु केही बताउन चाहेनन् । कुरा मिल्छ भन्ने सकारात्मक खबर कार्यकर्तामाझ पुग्यो । तर दोस्रो दिनको वार्तामा माधव नेपालको मन भाँडिएको कुरा उनी जनकपुर पुगेपछि थाहा भयो । बिहीबारको वार्ता सकिनसाथ उनी जनकपुर गए । वार्ताबाट निस्कने क्रममा सञ्चारकर्मीलाई कुनै प्रगति भएको छैन भन्ने जानकारी दिएका थिए । 

जनकपुरमा गएर नेपालले अध्यक्ष केपी शर्मा ओली पार्टी एकताको पक्षमा नभएको निष्कर्ष सुनाएका छन् । ओलीसँग बुधबार भएको भेटले थोरै आश जागेपनि बिहीबार ‘आफ्नो निर्णय माने मान, नमाने पार्टी छाड्न’ भन्ने शैली देखाएको हुनाले आफ्नो मन भाँडिएको नेपालको भनाइ थियो । 
नेपालले शुक्रबार जनकपुरधाममा भने, ‘केपी ओली कुनै पनि हालतमा एकताको पक्षमा हुनुहुन्न । उहाँमा माने मान, नमाने बाटो खुला छ भन्‍ने दम्भ छ, यस्तो दम्भकी त्यो धरहराभन्दा अग्लो छ ।’ 

नेपालले पहिलो दिनको वार्तमा अध्यक्ष ओलीलाई भनेका थिए, तपाईँको अध्यक्ष पद पनि खोस्न खोजेको होइन । प्रधानमन्त्रीबाट हट्नुस् पनि भनेको छैन । बस्नुस् प्रधानमन्त्री, तर पार्टीलाई सिस्टममा चलाइदिनुस् । माधव नेपाललाई पद चाहिएको छैन । बहुमत पुर्‍याएर निकाल्छ र प्रधानमन्त्री हुन्छ कि भनेर तर्सिनु पर्दैन ।’

माधव नेपालले त्यसो भनेपछि ओलीले ‘मिलेर अगाडि बढौँ’ भनेका थिए । ओलीले त्यसो भए केही उपाय छ त ?’ भनेर सोधेका थिए । आफूले ‘म उपाय खोज्छु, सरकारलाई स्थायित्व दिन भूमिका खेल्छु’ भनेको नेता नेपालले सुनाए ।‘मैले भने अब २०७५ जेठ २ मा फर्किऔं कमरेड । पार्टीलाई एकताबद्ध बनाऔं, मिलेर जाऊँ । क–कसलाई थप्नुपर्छ, त्यही छलफल गरौं । रामबहादुर थापा थपिएर केही फरक पर्दैन । हामी पनि २ र ४ जना मान्छे थपिदिउँला भनेर मैले भनेँ’ अध्यक्ष ओेलीसँग मेरियट होटलमा बिहीबार भएको सम्वादबारे उनले सुनाए । ‘तर उहाँले हुँदैन । तपाईहरु किन आउनु भएन भन्नुभयो ।’ नेपालले भने, ‘हामी पार्टी छोड्दैनौँ, संघर्ष गरिरहन्छौँ । 
 

प्रतिक्रिया दिनुहोस