एमालेभित्रको आन्तरिक किचलो मिल्ने ‘पारा’ देखिएन, के भनेर छुट्टिए प्रधानमन्त्री केपी ओली–माधव नेपाल ?

सफल खबर संवाददाता

शुक्रबार, १० बैशाख २०७८, ०७ : ४९
एमालेभित्रको आन्तरिक किचलो मिल्ने ‘पारा’ देखिएन, के भनेर छुट्टिए प्रधानमन्त्री केपी ओली–माधव नेपाल ?

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच दुई दिन चार घण्टासम्म भएको छलफलले मिल्ने पारा नल्याएपछि दुवैले आ–आफ्नै सुर गर्ने भएका छन् ।  राजधानीमा बिहीबार करिब दुई घण्टा भएको संवाद बुधबारभन्दा पनि तिक्त भएर सकिएपछि यी दुई नेता आ–आफ्नै लय नछोड्ने उद्घोषसहित छुट्टिएका हुन् ।

भेटघाटपछि नेता नेपालले अब सहमतिको सम्भावना सकिएको बताए । ‘हामीले पार्टी बचाउन जोड गरेका हौं तर उहाँको मिल्ने कुरा छैन,’ उनले भने, ‘हिजोको कुराले बरु अलिअलि आशावादी भइएको थियो, आज झन् बिग्रियो । अबको भेटघाट र छलफलको कुनै टुंगो छैन ।’ यी दुई नेताहरूबीच बुधबार भएको संवादमा ओलीले नेकपा एकीकरणदेखि प्रतिनिधिसभा विघटनयता कुनै पनि बेला आफूले सहयोग नपाएको गुनासो गरेका थिए । नेपालले पनि ओलीकै रवैयाका कारण पार्टी विभाजनको बिन्दुमा पुगेको बताएका थिए । 

नेपालले अहिले पार्टी एकताबद्ध राख्ने जिम्मेवारी अध्यक्षको हैसियतमा ओलीले लिनुपर्ने भन्दै त्यसका लागि ठोस प्रस्ताव ल्याउन माग गरेका थिए । उनले सहमतिको सालाखाला खाका मागेपछि ओली ‘फेरि भेटौंला’ भन्दै उठेका थिए । त्यही बिन्दुबाट बिहीबार संवाद थालनी गरेका नेताहरूबीच छलफल हुँदै जाँदा थुप्रै पटक नोकझोक भयो । नेपालले अब पार्टीलाई कसरी अघि बढाउने भनेर सोधेका थिए । लगत्तै ओलीले शुक्रबारको बैठकमा सहभागी भए बैठक स्थलमा छिर्न नरोकिने र फागुन २३ यता गरिएका सबै कारबाही फिर्ता गर्ने बताएका थिए ।

नेपालले भने फागुन २३ यता एमाले पार्टीका नाममा एकलौटी गरिएका सबै निर्णय फिर्ता लिए मात्रै सहमति जुट्न सक्ने अडान राखे । नेपालको उक्त अडान ओलीलाई मन परेन । उनले आफूलाई अप्ठ्यारो परेका बेला सहयोग गरेका माओवादी केन्द्रका नेताहरूलाई पार्टीबाट हटाएर अरूलाई स्वागत गर्न नसक्ने बताए । पार्टी निकै अगाडि बढिसकेको र अदालतले २०७५ जेठ ३ अघिको अवस्थामा पुर्‍याएको कुरा प्राविधिक मात्रै भएको प्रतिक्रिया दिए ।

नेपालले फागुन २८ यताका सबै निर्णय खारेज गरी पुरानै अवस्थामा पार्टीलाई फर्काउनुपर्ने र त्यतिखेरकै कमिटीहरू ब्युँताउनुपर्ने माग राखिरहेका बेला अध्यक्ष ओलीले भने फागुन २८ मा बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकयता जिम्मेवारी प्राप्त गरिसकेका नेताहरूको जिम्मेवारी खोस्न नसकिने बताए । ‘त्यसो भए तपाईंसँग कुरा मिल्दैन,’ नेपालले भने । ‘भोलि डाकिएको आयोजक कमिटीको बैठकमा आउनुभयो भने कारबाही फिर्ता लिन्छु, अरू निर्णय यथावत् छन्,’ अध्यक्ष ओलीले दोहोर्‍याए ।

त्यसपछि ओली बैठकस्थलबाट बाहिरिए, नेपाल ओलीका विशेष आर्थिक सल्लाहकार मोतीलाल दुगडसँग करिब आधा घण्टा छलफल गरेर बाहिर निस्किए । दुगडले छलफल सकारात्मक भएको बताए पनि नेता नेपालले कुनै पनि सहमति नभएको प्रतिक्रिया दिए । उक्त छलफलबारे आफूनिकट नेताहरूलाई छोटोमा ब्रिफिङ गरेर नेता नेपाल जनकपुरतिर गए ।

प्रतिक्रिया दिनुहोस