मलेसियाविरुद्ध नेपालको शानदार जित

सफल खबर संवाददाता

सोमबार, ०६ बैशाख २०७८, १६ : ५६
मलेसियाविरुद्ध नेपालको शानदार जित

काठमाडौं । कुशल भुर्तेलले लगातार दोस्रो अर्धशतक बनाउँदा नेपालले मलेसियामाथि शानदार जित हात पारेको छ ।त्रिकोणात्मक टी–२० सिरिजमा लगातार दोस्रो जित हात पर्ने क्रममा नेपालले मलेसियालाई ९ विकेटले हराएको हो । जितसँगै नेपालले गत वर्ष थाइल्याण्डमा भएको एसीसी इस्टर्न रिजन टी–२० मा व्यहोरेको हारको बदला पनि लिएको छ ।

त्रिवि क्रिकेट मैदानमा मलेसियाले दिएको ११० रनको लक्ष्य नेपालले मात्र नेपालले १२.१ ओभरमा १ विकेट गुमाएर भेट्टायो । नेपालको ओपनिङ जोडी कुशल भुर्तेल र आसिफ शेखले राम्रो सुरुवात दिलाए । दुबैले १०२ रनको साझेदारी गरे ।

त्यसक्रममा कुशलले अर्धशतक बनाए । उनको लगातार दोस्रो अर्धशतक हो । उनले टी–२० अन्तर्राष्ट्रियको डेब्यू खेलमै नेदरल्याण्ड्सविरुद्ध ६२ रन बनाएका थिए ।आसिफले विरनदिप सिंहको बलमा क्याचआउट हुनुअघि २९ बल खेल्दै ४ चौका र एक छक्का मद्दतमा ४२ रन जोडे । ४१ बलको सामना गरेका कुशल तीन चौका र पाँच छक्कासहित ६१ रनमा अविजित रहे भने दीपेन्द्र सिंह ऐरी ६ रनमा नटआउट रहे ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मलेसियाले १६.५ ओभरमा सबै विकेट गुमाएर १०९ रन बनाएको थियो । मलेसियाका लागि ओपनर सायद अजिजले सर्वाधिक २९ रन बनाए । २४ बल सामना गरेका उनले चार चौका र एक छक्का प्रहार गरे । यस्तै शार्भिन निएन्डीले २० रन जोडे भने शाफिक शारिफले १५ रन बनाए । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

मलेसियाले राम्रो सुरुवात गरेपनि नेपाली बलरले नियमित विकेट लिएपछि ठूलो स्कोर बन्न सकेन ।नेपालको लागि पहिलो विकेट करण केसीले दिलाएका थिए । उनले दोस्रो ओभरको चौथो बलमा अनवर अरुद्दिनलाई विकेटकिपर विनोद भण्डारीबाट क्याचआउट गराए ।

चौथो ओभरको तेस्रो बलमा मलेसियाका कप्तान अहमद फैज रनआउट भए । २ रन लिन खोज्दा उनलाई विकेटकिपर विनोद भण्डारी र करण मिलेर रनआउट गरेका थिए ।सातौं ओभरको अन्तिम बलमा सोमपाल कामीले विरनदिपको विकेट लिए । अघिल्लो खेलमा नेदरल्याण्ड्सविरुद्ध ८७ रन बनाएका विरनदिप मात्र ६ रनमा आउट भए ।

एक एण्डमा निरन्तर विकेट जाँदा ओपनर सायद अजिजले अर्को एण्ड सम्हालिरहेका थिए । तर नेपालका कप्तान ज्ञानेन्द्र मल्ले उपकप्तान दिपेन्द्र सिंह ऐरीलाई आठौं ओभरमा बलिङ गराए, जसले २७ रन बनाएका अजिज विकेट आयो । सन् २०१८ मा टी–२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका दीपेन्द्रले यो पहिलो विकेट हो ।

अजिज आउट भएपछि शार्भिन मुनिएन्डी र विकेटकिपर शाफिक शारिफले मलेसियाको इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए । तर नेपाली बलर सामू उनीहरुको केही लागेन ।

११ औं ओभरको दोस्रो बलमा मलेसियाका शाफिक शारिफ १५ रन बनाएर आउट भए । उनलाई सन्दीपले बोल्ड गरे । त्यसपछि निरन्तर विकेट जाँदा मलेसिया कम स्कोरमै समेटियो ।

नेपालका लागि करण केसीले ३ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । सन्दीप लामिछाने ३.५ ओभरमा २५ रन खर्चेर २ विकेट लिए भने सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, शाहब आलम र कुशल मल्लको नामा एकएक विकेट रह्यो ।नेपालले अर्को खेल मंगलबार नेदरलयाण्ड्ससँग दोस्रो खेल खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस