संसद अधिवेशन स्थगित गरेर सरकारले आफ्नो कायरता प्रदर्शन गर्यो : कांग्रेस नेता सिंह

सफल खबर संवाददाता

सोमबार, ०६ बैशाख २०७८, १२ : ४२
संसद अधिवेशन स्थगित गरेर सरकारले आफ्नो कायरता प्रदर्शन गर्यो : कांग्रेस नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले संसदको सामना गर्न नसकेर संसद अधिवेशन स्थगित गरेको बताएका छन् ।नेपाल प्रेस युनियन काठमाडौं शाखाले गरेको कार्यक्रममा उनले अधिवेशन स्थगित गरेर सरकारले आफ्नो कायरता प्रदर्शन र संसदको मानमर्दन गरेको टिप्पणी गरे । उनले संसद अधिवेशन अन्त्यलाई संसदीय ब्यवस्थामाथिको अर्को प्रहार भनेका छन् ।

सोमबार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन स्थगित गरेकी छन् ।नेता सिंहले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्रेस स्वतन्त्रतामाथि अङ्कुश लगाउने प्रयाससमेत जारी राखेको पनि बताए ।नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीको सम्मानमा आयोजित कार्यक्रममा उनले सरकारको प्रेस स्वतन्त्रताविरोधी कदमको प्रतिवाद गर्नुपर्ने बताए ।‘ओली सरकारले प्रेस स्वतन्त्रतामाथि अङ्कुश लगाउने प्रयास गरिरहेको छ । सबै मिलेर प्रतिवाद गर्नुपर्छ’ उनले भने ।

फरक प्रसङ्गमा नेता सिंहले कोरोना नियन्त्रणमा सरकार उदसीन भएको बताए । ‘सरकारले राजनैतिक, र नैतिक दृष्टिकोणबाट सरकारमा रहिरहने वैधानिकता गुमाइसकेको छ । यो सरकारले देश र जनताको पक्षमा काम गर्न सकेन’ उनले भने, ‘यो सरकारले विकास निमार्णका काम केही नगर्ने तर जनतामा विकास भएको भ्रम सिर्जना गरिरहेको छ ।’नेता सिंहले अब देशलाई निकास दिलाउन नेपाली काग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस