एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक आज बस्दै

सफल खबर संवाददाता

सोमबार, ०६ बैशाख २०७८, ११ : ०५
एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक आज बस्दै

काठमाडौं । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक आज बस्दैछ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।

बैठकबाट कर्णालीमा केही दिनअघि ‘फ्लोर क्रस’ गरी मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मतदान गर्ने सांसदमाथि कारबाहीको निर्णय बारेमा छलफल हुने एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । आजको बैठकमा खनाल–नेपाल समूहका नेता भने सहभागी नहुने भएका छन् । बैठकमा अध्यक्ष ओलीले राजनीतिक र महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रतिवेदन पेस गर्ने कार्यतालिका रहेको छ ।

खनाल–नेपाल समूहले अलग पार्टीका रूपमा अभ्यास गरिरहेको उल्लेख गर्दै भट्टराईले पार्टी आफ्नो बाटोमा अघि बढ्ने जानकारी दिए । खनाल–नेपाल समूहका माग र गतिविधिलाई पर्खेर नबस्ने योजनामा अध्यक्ष ओली रहेको बुझिएको छ । ओलीले बोलाएको महाधिवेशन आयोजक कमिटीको बैठकको अघिल्लो दिन हिजो खनाल–नेपाल समूह आधिकारिकता दाबी गर्दै निर्वाचन आयोग पुगेको थियो ।

ओलीले गत फागुन २८ पछि गरेका केन्द्रीय कमिटीमा मनोनयनलगायत सबै निर्णय अवैधानिक भएको तर्क गर्दै खनाल–नेपाल समूहले आफूहरू नै आधिकारिक दावी गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस