सातवटै प्रदेशमा अटो मेकानिक्सका प्राविधिक कलेज खोल्न  माग

सफल खबर संवाददाता

शनिबार, ०४ बैशाख २०७८, १३ : ०९
सातवटै प्रदेशमा अटो मेकानिक्सका प्राविधिक कलेज खोल्न  माग

काठमाडौँ । नेपाल अटो मेकानिक्स व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष जनार्दन गैरेले सातवटै प्रदेशमा अटो मेकानिक्ससम्बन्धी प्राविधिक कलेजहरु खोल्न सरकारसँग माग गर्नुभएको छ। अटो मेकानिकल व्यवसायी संघ चितवन र अटो मेकानिकल बचत तथा ऋण  सहकारी संस्थाले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो।

उहाँले अटो बजार निकै फराकिलो बनेको तर दक्ष जनशक्ति नहुँदा ठूलो समस्या पर्ने देखिएकाले प्रदेश सरकार र स्थानीय सरकारहरु यस बिषयमा गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । उहाँले प्रत्येक जिल्लामा अटो भिलेजको अनिवार्य आवश्यकता भएको बताउनुभयो । प्रत्येक जिल्लामा अटो मेकानिकल ईन्जिनियरको समेत आवश्यकता भएको अध्यक्ष गैरेको भनाइ थियोे । कार्यक्रममा संघका केन्द्रीय उपाध्यक्ष कूल बहादुर नेपाली ,महासचिव टिकादत्त अधिकारी ,सचिव ज्योती भन्डारी ,केन्द्रीय सदस्य रामबहादुर लोहनी लगायतले अटो मेकानिकल व्यवसायीलाइ सरकारले फरक दृष्टिकोणले हेरिरहेको गुनासो गर्नुभएको थियो।

सो अबसरमा धादिङ अटो मेकानिकल व्यवसायी संघका अध्यक्ष ईन्द्र त्रिपाठी,संघका चितवन पुर्व अध्यक्ष बलराम भन्डारी,कानुनी सल्लाहकार राजकुमार श्रेष्ठ,प्रेस सल्लाहकार प्रकाश ज्ञवाली लगायतले अटो मेकानिकल व्यवसायी संघ राज्यकै महत्वपुर्ण अङ्गको रुपमा रहेको चर्चा गर्नुभएको थियो। कार्यक्रममा चैत २१ गते निर्वाचित केन्द्रीय समितिलाई सम्मान तथा बधाई ज्ञापन गरिएको थियो। साथै अटो मेकानिकल व्यवसायी संघको नयाँ बर्षको क्यालेन्डर समेत बिमोचन गरिएको थियो। कार्यक्रम संघका अध्यक्ष प्रेमप्रसाद पान्डे र अटो मेकानिकल सहकारीका अध्यक्ष नारायण कँडेलको संयुक्त अध्यक्षतामा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस