विपक्षी दलको बैठक

तत्काल हिउँदे अधिवेशन बोलाउन विपक्षी दलहरूको माग

सफल खबर संवाददाता

बुधबार, ०२ माघ २०८१, ११ : ४०
तत्काल हिउँदे अधिवेशन बोलाउन विपक्षी दलहरूको माग

काठमाडौं । विपक्षी ६ दलहरूको बैठकले संसद्को हिउँदे अधिवेशन बोलाउन सरकारलाई आग्रह गरेको छ । अध्यादेशबाट सरकार सञ्चालन गर्ने प्रवृत्ति देखिएको साझा निष्कर्ष निकाल्दै दलहरूको बैठकले चाँडोभन्दा चाँडो नियमित अधिवेशन नबोलाए विशेष अधिवेशन माग गर्ने समझदारी पनि गरेका छन् ।

बैठकपछि माओवादी केन्द्रका महासचिव वर्षमान पुनले भने, ‘सरकारले नियमित संसद् अधिवेशन नबोलाएर अध्यादेशबाट स्वेच्छाचारी ढंगले सरकार सञ्चालन गर्ने प्रवृत्ति देखाएको छ । त्यसमा सबै दलहरूको चिन्ता चासो रहेको छ । संसद्लाई छल्न खोजेको छ । नियमित हिउँदे अधिवेशन बोलाउन सकेको छैन ।’

आवश्यक कानून निर्माणका लागि हिउँदे अधिवेशन बोलाइसक्नुपर्ने भए पनि त्यसो नभएको उल्लेख गर्दै उनले भने, ‘नियमित हिउँदे अधिवेशन बोलाओस् कानून निर्माण जनताका सवालहरू सदनमा लिएर आवस् छलफल हुन्छ । विशेष अधिवेशन माग गर्नेसम्म तयारी गरिरहेका छौँ । तयारी गर्नुपर्छ भन्ने समझदारी भएको छ ।’

प्रतिक्रिया दिनुहोस