अहिले राजनीतिक क्षेत्रमा विकृतिहरु देखापर्न खोज्दै छ, त्यसको प्रतिवादमा उत्रनुपर्छ : ईश्वर पोख्रेल

सफल खबर संवाददाता

शनिबार, ०४ बैशाख २०७८, ११ : १९
अहिले राजनीतिक क्षेत्रमा विकृतिहरु देखापर्न खोज्दै छ, त्यसको प्रतिवादमा उत्रनुपर्छ : ईश्वर पोख्रेल

file Photo

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोख्रेलले मुलुकको राजनीति गलत दिशामा गईरहेको भन्दै त्यसको प्रतिवादमा उत्रन आव्हान गरेका छन् । शनिबार काठमाण्डौमा भएको एक कार्यक्रममा उपप्रधानमन्त्री पोख्रेलले सरकार ढाल्ने खेल भईरहेको भन्दै यस्ता गलत क्रियाकलाप विरुद्ध सबै जनता प्रतिकारमा उत्रनुपर्ने बताएका हुन् ।

जनताले सही र गलत क्रियाकलाप छुट्याएर हर क्षेत्रमा देखिएको गलत कार्य विरुद्ध प्रतिवाद गर्नुपर्नेमा उनले जोड दिए । निर्वाचित सरकारले निश्चित समयावधि पनि लिएर आएको भन्दै त्यसअघि नै सरकार ढाल्ने प्रयास भए मुलुक र जनताका लागि ठूलो र्दुभाग्य हुने बताएका हुन् । सरकारले गरेका काम सबै सार्वजनिक भएको र सरकारका राम्रा काम र कमजोरीको हिसाबकिताब चुनावमा हुने भन्दै उनले सरकार ढाल्ने ,जनतामा निराशा फैलाउने र अस्तव्यस्त श्रृजना गर्ने प्रयास भए राम्रो नहुने चेतावनी दिए  ।

उनले भने, “ राजनैतिक अस्थिरता भईरह्यो भने , सरकार ढाल्ने खेल भयो भने । सरकार त ५ बर्षका लागि आएको हो निर्वाचित भएर । सधै बस्छु भनेर हिजो निरंकुश राजाको बेलामा जस्तो त होइन । एउटा अवधिसम्म बस्ने हो । त्यो अवधिसम्म राम्रो काम गर्यो भने जनताले पुरस्कृत गर्छन् । राम्रो काम भएन भने जनताले दण्डित गर्छन् । यसलाई त हामीले मानेको हो नि । तर बीचमा नै अनेक खालको जालझेल गरेर सरकार ढाल्ने फेरि नयाँ बनाउने, नयाँ खेलोमेलो गर्ने काम सुरु भयो भने यसले र्दुभाग्य निम्त्याउँछ । विकास र निर्माणका काम पनि रोकिन्छन् । समाजमा भद्रगोल श्रृजना हुन्छ । अहिले पनि राजनीतिक क्षेत्रमा विकृतिहरु, विसंगतिहरु देखापर्न खोज्दै छ । सरकार ढाल्ने, सरकार ढाल्ने खेलमा लाग्ने । राजनीतिक र सामाजिक क्षेत्रका नराम्रा कुराको विरोध गर्नु जरुरी छ । सही कुराको पक्षमा गलत कुराको विरुद्धमा हामीले खबरदारी गर्नुपर्छ । यो काम पनि हामीहरुबाट होस् भन्ने कुरा म अनुरोध गर्न चाहन्छु । जनतामा निरासा फैलाउने र अस्तव्यस्त श्रृजना गर्ने प्रयास भयो भने यो राम्रो हुदैन ।”

उपप्रधानमन्त्री पोख्रेलले पछिल्लो समय मुलुकमा देखापरेको राजनैतिक खिचातानीले कामै गर्न नसकिने वातावरण श्रृजना भएको बताए । स्थिर सरकार भए मात्र सामाजिक, आर्थिक र भौतिक पुर्वाधार तथा समग्र विकासका काम गर्न सकिने उनको तर्क थियो । उनले आगामी आर्थिक बर्षको बजेटमा सामाजिक सुरक्षा भत्ता बढाईने पनि बताए  । उनले स्थानीयस्तरमा हुने विकाश निर्माणलाई राजनैतिक रुपमा नहेर्न आग्रह गरे । राजनैतिक रुपमा प्रतिस्पर्धा भएपनि विकास निर्माणमा मिलेर लाग्नुपर्नेमा उनले जोड दिए ।
 

प्रतिक्रिया दिनुहोस