देउवा र पौडेलको सार्वजनिक मञ्चमै भनाभन, कसको आरोप के थियो ?

सफल खबर संवाददाता

शुक्रबार, २७ चैत्र २०७७, १६ : १७
देउवा र पौडेलको सार्वजनिक मञ्चमै भनाभन, कसको आरोप के थियो ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच सार्वजनिक मञ्चमै भनाभन भएको छ । नेपाल निजामती कर्मचारी युनियन संघको राष्ट्रिय भेलामा नयाँ सरकार गठनबारे पौडेल र देउवाको जुहारी नै चलेको थियो । 

रामचन्द्र पौडेलले जोखना हेर्दाहेर्दै सरकार गठनको एउटा अवसर गुमेको बताए ।  उनले देउवातर्फ हेर्दै भने, ‘जोखाना हेर्दाहर्दै चान्स मिस भइसक्यो, अर्को चान्स पनि मिस गर्ने हो भने न रुन पाउनु न हाँस्न पाउनु हुन्छ ।’ निरंकुशतातिर गएको सत्ताका लागि तत्काल विकल्प खोज्न पौडेलले देउवालाई आग्रह गरेका थिए । उनले विकल्प खोज्नका लागि उदार भएर सहमतितर्फ सम्झौता गर्नलाई सुझाव दिएका थिए । 

पौडेलपछि बोलेका देउवाले पौडेलेको खण्डन गरे । उनले आफ्नो पक्षमा संख्या नपुगेसम्म अघि नबढ्ने बताए । यदि अरु अगाडि बढ्न तयार भए स्वीकार गर्ने उनले बताए ।
कांग्रेससँग संसदको एक चौथाई संख्या पनि नभएको भन्दै उनले  सत्ताको लोभमा नफस्न पोडेललाई सुझाव दिए ।

उनले भने, ‘जनताले हामीलाई भोट दिएनन्, के गर्ने ? तपाई (रामचन्द्र पौडेल) ले पनि चुनाव हार्नु भएकै हो ।’ देउवाले आफूले प्रधानमन्त्री दिँदा पनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एमालेका अध्यक्ष केपी शर्मा ओलीतिर गएको बताए ।

देउवाले भने, ‘प्रचण्डले प्रधानमन्त्री हुनूस् भनेर हुन्छ, सरकार गठनका लागि चाहिने संख्या पुगेकै छैन । म संख्या नपुग्ने खेलमा छैन । कसैलाई बनाएर हुन्छ भने म तयार छु ।’ देउवाले चुनावबाहेक अर्को बाटो उचित नहुने भएकाले त्यसका लागि तयार रहनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस