काठमाडौं । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि देशभर मतदान प्रक्रिया सुरु भएको छ । महासङ्घका सबै शाखा, प्रदेश समिति र केन्द्रीय समितिको निर्वाचन एकसाथ सुरु भएको हो ।पत्रकार महासङ्घ प्रत्यक्ष मतदान प्रणालीमा प्रवेश गरेपछि केन्द्रीय समितिको निर्वाचन पहिलो पटक प्रत्यक्ष प्रणालीबाट हुन लागेको हो ।
महासङ्घको केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला शाखा र विभिन्न प्रतिष्ठान तथा एसोसिएटमा नयाँ नेतृत्वका लागि १३ हजार १२२ सदस्यले एकसाथ मतदान गर्दैछन् । मतदान साँझ ७ बजेसम्म चल्नेछ भने लगत्तै मतगणना शुरु गरिने छ । केन्द्रीय निर्वाचन समितिका संयोजक कपिल काफ्लेले कुनै बाधा नभए चैत २६ गते सबै तहको मत परिणाम आउने बताए ।
निर्वाचनका लागि ७७ जिल्लाको सम्बन्धित जिल्ला शाखामा, ४२ प्रतिष्ठानको विभिन्न १९ स्थानमा र एक एसोसियटको दशरथ रङ्गशालामा गरी कुल ९७ बुथमा निर्वाचन तोकिएको छ । यस निर्वाचनमा तीन हजारभन्दा बढी पदाधिकारी तथा सदस्य निर्वाचित हुने र त्यसमा महिलाको उपस्थिति ३३ प्रतिशतभन्दा बढी रहने संयोजक काफ्लेले बताए । महासङ्घका सबै संरचनामा पूर्ण समावेशिताको व्यवस्था गरिएको छ ।
केन्द्रीय समितिको ४९ पदका लागि १५२ को उम्मेदवारी परेको छ । केन्द्रीय समितिको अध्यक्षमा विपुल पोखरेल र निर्मला शर्माले प्यानलसहित उम्मेदवारी दिएका छन् भने गजेन्द्र सिंह बुढाथोकी पनि अध्यक्षको प्रत्यासी हुन् । प्रत्येक तीन वर्षमा सबै समिति तथा शाखाहरूको निर्वाचन हुने महासङ्घमा हाल सबै समितिका नेतृत्व चयनका लागि सबै सदस्यहरुको प्रत्यक्ष मतदानको व्यवस्था गरिएको छ । महासङ्घमा हालसम्म कुनै पनि अध्यक्षको कार्यकाल दोहोरिएको छैन ।
महासङ्घले आफ्नो सङ्गठनलाई सङ्घीयता अनुरूप ढाल्दै प्रदेश समिति तथा प्रदेश परिषद्हरु पनि गठन गरिसकेको छ । देशका सात प्रदेशसहित काठमाडौँ उपत्यकालाई छुट्टै एकाइ मानी आठ भौगोलिक प्रदेश र प्रतिष्ठान शाखा तथा एसोसिएट संस्थाहरु रहने प्रतिष्ठान एवं एसोसिएट दुई गैरभौगोलिक प्रदेश गरी महासङ्घका १० प्रदेश समिति र परिषद् छन् ।
महासङ्घका जिल्ला शाखा ७७, प्रतिष्ठान शाखा ४२, एसोसिएट सदस्य ११, वैदेशिक शाखा नौ, प्रदेश परिषद् १०, प्रदेश समिति १०, केन्द्रीय परिषद् र केन्द्रीय समिति रहेका छन् । महासङ्घको केन्द्रीय समिति ४९ सदस्यीय रहेको छ भने प्रदेश समिति २१ सदस्यीय रहने विधानको प्रावधान छ । जिल्ला तथा प्रतिष्ठान शाखा भने सदस्य सङ्ख्याअनुसार रहने व्यवस्था छ ।नेपाल पत्रकार महासङ्घ सम्पूर्ण नेपाली पत्रकारहरुको साझा छाता सङ्गठन हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २५ चैत्र २०७७, १० : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पत्रकार महासंघको निर्वाचनको सन्दर्भमा ६ संगठन एक ठाउँमा
पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित
असार दोस्रो साता पत्रकार महासंघको चुनाव गर्ने प्रतिबद्धता पुरा गर्न ६ संगठनको माग
नेपाल पत्रकार महासंघको चुनाव सर्ने
कान्तिपुरका अध्यक्षलाई पक्राउ गरिनु प्रतिशोधपूर्ण छ : पत्रकार महासंघ
पत्रकार महासंघको २७ औँ महाधिवेशन : १८ बुँदे काठमाडौँ घोषणापत्र जारी