माओवादी केन्द्रले गर्यो  चार प्रदेशसभा सदस्यमाथि कारवाही

सफल खबर संवाददाता

सोमबार, २३ चैत्र २०७७, १३ : ०२
माओवादी केन्द्रले गर्यो  चार प्रदेशसभा सदस्यमाथि कारवाही

काठमाडौं । नेकपा माओवादी केन्द्रले विभिन्न प्रदेशका चार प्रदेशसभा सदस्यमाथि कारवाही गरेको छ । ती प्रदेशसभा सदस्य कारवाहीमा परेसँगै उनीहरुको सांसद पद खोसिने भएकाले रिक्त स्थानमा उपनिर्वाचन गर्नुपर्ने भएको छ ।

संविधानको धारा १७६ को उपधारा ८ मा ‘प्रदेशसभाको कार्यकाल ६ महिनाभन्दा बढी समय बाँकी छँदै कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो सोही प्रक्रियाबाट पूर्ति गरिनेछ’ भनिएको छ ।

माओवादी केन्द्रले प्रदेश १ का प्रदेशसभा सदस्य टंक आङ्बुहाङ, लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्यद्वय दधिराम न्यौपाने र दिनेश पन्थी, कर्णाली प्रदेशसभा सदस्य धर्मराज रेग्मीमाथि कारवाही गरेको हो । यी चारैजनालाई कारवाही गरेको पत्र माओवादी केन्द्रले सम्बन्धित प्रदेशसभा सचिवालयलाई पठाइसकेको छ ।

प्रदेश १ को प्रदेशसभा र लुम्बिनी प्रदेशसभा बैठक सोमबार नै बस्दैछन् । ती प्रदेशसभाका सभामुखले माओवादी केन्द्रबाट कारवाहीको जानकारीसहित पठाइएको पत्र प्रदेशसभा बैठकमा पढेर सुनाएपछि सम्बन्धित प्रदेशसभा सदस्यको पद रिक्त भएको मानिने छ । कर्णाली प्रदेशसभाको अधिवेशन सञ्चालन नभएका कारण त्यहाँका सभामुखले कारबाहीसम्बन्धी व्यहोरा सूचना टाँसेर जानकारी गराउन सक्नेछन् । यसरी सूचना टाँस गरेर जानकारी गराएसँगै सम्बन्धित सांसदको पद रिक्त भएको मानिने छ ।

प्रदेशसभामा रिक्त हुने चार सांसदको पद पूर्तिका लागि संविधानले गरेको व्यवस्थाअनुसार उपनिर्वाचनमा जानुपर्ने हुन्छ । किनकि कारवाही गरिएका चारै सांसद प्रत्यक्ष निर्वाचन प्रणाली अन्तर्गत चुनिएका हुन् । त्यसैले उनीहरुको स्थानमा रिक्त पद पूर्तिका लागि निर्वाचनमै जानुपर्ने बाध्यता हुन्छ ।

प्रतिक्रिया दिनुहोस