सुर्खेतमा दिदीबहिनी झुण्डिएको अवस्थामा मृत फेला

सफल खबर संवाददाता

शनिबार, २१ चैत्र २०७७, ११ : ५५
सुर्खेतमा दिदीबहिनी झुण्डिएको अवस्थामा मृत फेला

सांकेतिक तस्वीर

सुर्खेत । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकामा घाँस काट्न गएका दिदीबहिनी झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । वडा नम्बर–६ बाबियाचौरमा बस्दै आएका दुई जना दिदीबहिनी झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् । १४ र १५ वर्षीय किशोरी दिदीबहिनी झुण्डिएको अवस्थामा शुक्रबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी तथा डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए । 

घर्तीका अनुसार उनीहरु बिहान ८ बजे घरबाट घाँस काट्न नजिकैको जंगलमा गएका थिए । त्यहीँ ११ बजे झुण्डिएको अवस्थामा स्थानीयले देखेका थिए । १४ वर्षीया किशोरी कक्षा ७ मा र १५ वर्षीया किशोरी कक्षा ८ मा पढ्दै आएको पनि घर्तीले बताए ।  

दुवै जना कमला बादीकी दिदीका छोरीहरू हुन् । कमला बादीकै घरमा बसेर अध्ययन गर्दै आएका थिए । घर्तीले भने, ‘स्थानीयले दुई बालिकालाई झुण्डिएको अवस्थामा भेटाएपछि प्रहरीलाई खबर गरेका थिए । 

शवलाई पोष्टमार्टमको लागि अहिले प्रदेश अस्पताल कालागाउँमा ल्याइएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको छ,’ घर्तीले भने ।   

प्रतिक्रिया दिनुहोस