शक्ति संगठित गर्दै खनाल–नेपाल समुह

शुक्रबार, २० चैत्र २०७७, ०७ : ३८
शक्ति संगठित गर्दै खनाल–नेपाल समुह

कास्की । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले नेताहरूमाथि कारबाहीको प्रक्रिया सुरु गरेपछि एमालेको झलनाथ खनाल–माधवकुमार नेपाल समूहले पार्टीका समानान्तर कमिटीहरू गठन गर्दै आफ्नो शक्ति संगठित गर्न थालेको छ ।

नेता नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि अध्यक्ष ओलीले पार्टी सदस्यबाट समेत निलम्बन गरेपछि खनाल–नेपाल समूहले मुलुकभर समानान्तर कमिटी बनाउन थालेको हो । यसअघि भ्रातृ संगठनहरूमा समानान्तर कमिटी बनाएको खनाल–नेपाल समूहले अब प्रदेश र जिल्ला तहमा संगठन निर्माण गर्न थालेको छ । यसको सुरुवात बिहीबार गण्डकी प्रदेशबाट गरिएको छ ।

पोखरामा आयोजित खनाल–नेपाल समूहको प्रदेशस्तरीय कार्यकर्ता भेलाले बिहीबारै ओलीबाट कारबाहीमा परेका नेता पाण्डेको नेतृत्वमा गण्डकी प्रदेशमा २२ सदस्यीय समानान्तर कमिटी गठन गरेको छ । नेता नेपालले कमिटी घोषणा गरेका हुन् । नेपालले गण्डकी प्रदेशका अधिकांश जिल्लामा समानान्तर कमिटी गठन गरेका छन् ।

कास्की अध्यक्षमा धनराज आचार्य र सचिवमा होमबहादुर नेपाली, स्याङ्जा अध्यक्षमा रामचन्द्र भट्टराई र सचिवमा भूपराज अधिकारी छन् । म्याग्दी अध्यक्षमा बालकृष्ण सुवेदी, बागलुङ अध्यक्षमा इन्द्रलाल सापकोटा र सचिवमा लालबहादुर थापा, पर्वत अध्यक्षमा भक्त कुँवर र सचिवमा पदमपाणि शर्मा, तनहुँ अध्यक्षमा शंकनारायण श्रेष्ठ र सचिवमा श्रीराम कार्की छन् । गोरखामा यादव बस्नेत अध्यक्ष र सानोमाया बस्नेत सचिव छन् । नवलपुर र लमजुङको अध्यक्ष र सचिवको नाम सार्वजनिक गरिएको छैन । मनाङ र मुस्ताङमा कमिटी गठन गर्न बाँकी रहेको खनाल–नेपाल समूहले जनाएको छ ।

चैत २९ अघि नै सबै जिल्लामा समानान्तर कमिटी घोषणा कार्यक्रम सम्पन्न हुने स्याङ्जाका अध्यक्ष रामचन्द्र भट्टराईले जानकारी दिए । उनका अनुसार भेलामा एघारवटै जिल्लाका सचिवालय सदस्य र नेता–कार्यकर्ताको उपस्थिति थियो । अध्यक्ष ओलीले चार जना नेताहरूमाथि कारबाहीको प्रक्रिया अघि बढाएपछि खनाल–नेपाल समूह मुलुकभर समानान्तर संगठन निर्माण गरेर अघि बढ्ने निष्कर्षमा पुगेको थियो ।

तीन दिनअघि खनाल–नेपाल समूहमा आबद्ध ११ जना स्थायी कमिटी सदस्यले संयुक्त वक्तव्य जारी गर्दै ओलीका अवैधानिक कदमविरुद्ध संगठित हुन आमकार्यकर्तालाई आग्रह गरेका थिए । अध्यक्ष ओलीले एक–एक गर्दै कारबाही गरेर खनाल–नेपाल समूहको शक्ति क्षीण बनाउने रणनीति अख्तियार गरेपछि उनलाई सफल हुन नदिन समानान्तर कमिटी बनाएर आफू पक्षका नेताहरूलाई जोगाइराख्ने योजना यो समूहले बनाएको हो । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस