खनाल–नेपाल समूहद्वारा कास्कीमा समानान्तर कमिटी घोषणा

सफल खबर संवाददाता

विहीबार, १९ चैत्र २०७७, १२ : ४५
खनाल–नेपाल समूहद्वारा कास्कीमा समानान्तर कमिटी घोषणा

पोखरा । नेकपा एमालेको झलनाथ खनाल–माधव नेपाल समूहको पोखरामा आयोजित भेलाबाट कास्कीमा समानान्तर कमिटी घोषणा गरिएको छ । बिहीबार पोखराको न्यूरोडस्थित सिटी पार्टी प्यालेसमा आयोजित भेलाले ७५ सदस्यीय समानान्तर कमिटी गठन गरेको हो ।

नेता माधव कुमार नेपालको प्रमुख उपस्थितिमा आयोजित कार्यकर्ता भेलाले धनराज आचार्यको नेतृत्वमा कमिटी घोषणा गरेको हो । कमिटीको सचिवमा होमबहादुर नेपाली रहेका छन् । गठित समितिले केही समयभित्रै अर्को भेला गरेर पार्टीको पूर्ण कमिटी घोषणा गर्ने बताइएको  छ ।

भेलामा माधव नेपाल र सुरेन्द्र पाण्डे सहित तुलबहादर गुरुङ, चूडामणि जंगली, श्रीनाथ बराल र मदनकाजी श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । पछिल्लो समय पार्टीमा एमालेका अध्यक्ष केपी ओलीले नेपाल र भीम रावललाई कारवाही गरेपछि नेपाल–खनाल समूहले विभिन्न भ्रातृ संगठनको समानान्तर कमिटी घोषणा गर्दै आएको छ । 

पार्टीको कारबाहीमा परेपछि नेपाल पहिलो पटक पोखरा आएका हुन् । गण्डकी प्रदेश एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीको बलियो पकड क्षेत्र हो । गण्डकी प्रदेशमा पनि कास्की ओली पक्षको सबैभन्दा बलियो पकड भएको जिल्ला भएको बताइन्छ । प्रदेश तथा संघीय संसदमा नेपाल–खनाल समूहबाट एकजना मात्र सांसद रहेका छन् ।

प्रतिक्रिया दिनुहोस