ओलीलाई भुसालको जवाफ : तपाईँको समूहमा छलछाम र तिकडम

सफल खबर संवाददाता

मंगलबार, १७ चैत्र २०७७, १२ : १०
ओलीलाई भुसालको जवाफ :  तपाईँको समूहमा छलछाम र तिकडम

file photo

काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले पार्टी अध्यक्ष केपी शर्मा ओलीको समूहमा लागेकाहरू छलछाम र तिकडममा लागेर राज्य दोहनमा पारङ्गत भएको गम्भीर आरोप लगाएका छन् । मङ्गलबार ओलीले सोधेको स्पष्टीकरणमा जवाफ दिँदै अध्यक्ष ओलीले भने,  ‘तपाईंसँग असहमत दोश्रो पुस्तालाई त तपाईंले किनारा लगाई नै सक्नुभएको छ र कोही बाँकी भए तिनलाई पनि तपाईंले क्रोध र बदलाका साथ गुटबन्दीको सहारामा किनारा लगाउनु नै हुन्छ ।

तपाईंसँग अहिले दोश्रो पुस्ताको जुन समूह छ त्यसमध्ये केहि धेरै अगाडिदेखि नै छलछाम र तिकडममा लागेर राज्य दोहनमा पारङ्गत भैसकेका छन्’, उनले ओलीका मान्छेहरुले राजनीतिको व्यापार गरेको पनि दाबी समेत गरेका छन् ।

पार्टीमा राजनीतिक आदर्शले प्रेरित हुँदै सङ्घर्ष गरेर आएका नेता कार्यकर्ताको पंक्ति पनि ठूलो भएको भन्दै भुसालले तिनले स्वतन्त्रतापूर्वक विकास गर्न पाएको भए अहिले नेपाली राजनीतिमा एउटा बलियो नयाँ पुस्ता आउँथ्यो भनेका छन् । उनले भनेका छन्, ‘त्यसका पछाडि अझ अर्को पुस्ता तयार भइसक्ने थियो । तर तपाईंका असहिष्णु छायाँमूनी टाक्सिँदै गएर उनीहरु केवल तपाईंका आदेश पालक जमातमा परिणत हुँदै गएका छन् । उनीहरुको सिर्जना, स्वत्व, प्रतिबद्धता सबै गुम्दै गैरहेको छ ।’

ओलीका मान्छेहरुले देखेको बोल्न नसक्ने र झूटा कुरा पनि थाहा हुँदाहुँदै बोल्दै हिँडेको टिप्पणी गरेका छन् । ‘उनीहरुले जे कुरा देख्छन् यो बोल्न सक्दैनन् जुन कुरा बोल्छन् त्यो झुठो हो भन्ने उनीहरुलाई थाहा छ । यसरी उनीहरुको व्यक्तित्व पनि विभाजित व्यक्तित्व बन्दैछ । सोच्ने एक थोक, बोल्ने अर्को थोक र गर्ने अझै अर्को थोक हुन जाँदा व्यक्तित्व विघटित हुन्छ र नक्कली व्यक्तित्व बन्छ । यसरी सत्ताले नक्कली व्यक्तित्वहरुको झुण्ड तयार गर्छ । तपाईंको सत्ताले पार्टीमा यस्ता नयाँ मानिसहरु जन्माउँदै छ जसको योग्यता आदेश तामेल गर्ने मात्रै हो,’ भुसालको ठहर छ । लाखौँ सदस्यको नाम, इज्जत, पहिचान भएको पार्टी अहिले ‘एकमना’ पार्टीमा बदलिँदै गएको पनि उनको ठहर छ  ।

प्रतिक्रिया दिनुहोस