रुद्र–सेन स्मृति पत्रकारिता पुरस्कार खड्का र विष्टलाई

सफल खबर संवाददाता

शनिबार, १४ चैत्र २०७७, १५ : ००
रुद्र–सेन स्मृति पत्रकारिता पुरस्कार खड्का र विष्टलाई

हेटौंडा । प्रेस संगठन नेपाल बागमती प्रदेशका अध्यक्ष सुनिल खड्का र प्रेस संगठन नेपालकी केन्द्रीय सदस्य नानी मायाँ विष्टलाई स्वर्गीय कृष्ण सेन ‘इच्छुक’ र रुद्र पाख्रिनका नाममा स्थापित पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । 

प्रेस संगठन नेपाल मकवानपुरले शनिबार हेटौंडामा ‘अग्रज पत्रकार सम्मान तथा क्रियाशील पत्रकारिता पुरस्कार वितरण कार्यक्रम आयोजना गरी तत्कालिन प्रेस सेन्टरले स्थापनाकालदेखि प्रदान गर्दै आएको रुद्र पाख्रिन र कृष्ण सेन इच्छुकको नाममा रहेको ‘रुद्र–सेन स्मृति पत्रकारिता पुरस्कार’ खड्का र विष्टलाई सो पुरस्कार प्रदान गरेको हो । 

नेपाल विज्ञापन वोर्डका सदस्य बलराम थापाको प्रमुख अतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा संगठनले मकवानपुरमा लामो समयदेखि पत्रकारितामा कलम चलाउँदै आएका अग्रज पत्रकारलाई सम्मानसमेत गरेको छ । 
संगठनले महासंघका पूर्व अध्यक्ष नवराज शर्मा, प्रताप विष्ट, कौशल पाण्डे, राममणि दाहाल, भानुभक्त आचार्य, महेन्द्र श्रेष्ठलाई सम्मान गरेको छ भने कृष्णराम परियार, सुवर्ण श्रेष्ठ, कमलचन्द्र सुमन, नानीमाया कार्की, मोहन साँगामी, लोकनाथ पाण्डे, आरसी रिजाललाई पनि सम्मान गरिएको हो ।

सो अवसरमा मकवानपुर रहेर पत्रकारितामा क्रियाशिल ४ जना पत्रकारहरुलाई पुरस्कृत गरिएको छ ।पुरस्कृत हुने पत्रकारहरुमा पत्रकार महासंघ मकवानपुरका वर्तमान सचिव गणेश अधिकारी, शिव प्रसाद चौलागाई, सरला अधिकारी, शुभलक्ष्मी विक रहेका छन् । उनीहरु नगद पाँच हजार रुपैंयासहित पुरस्कृत गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै विज्ञापन बोर्डका सदस्य थापाले पत्रकार महासंघलाई स्वतन्त्र नेतृत्व प्रदान गर्न सके मात्र सम्पुर्ण पत्रकारिता क्षेत्रको विकासमा टेवा पुग्ने बताए । यस्तै  बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामीले सहिदहरुको बलिदानका कारणले नै पत्रकारिता क्षेत्र स्वतन्त्र बनेको बताए ।

उनले प्रेस स्वतन्त्रताका लागि सहिदले दिएको बलिदानको प्रतिफल स्वरुप आज सबै नेपाली जनताले स्वतन्त्र रुपमा बोल्न र लेख्न सक्ने अवस्थाको निर्माण भएको बताए ।कार्यक्रमलाई नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष प्रताप विष्ट, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईलगायत पनि बोलेका थिए । 

प्रतिक्रिया दिनुहोस