चितवनमा स्वरूप परिवर्तन गरी चलाइएका मोटरसाईकलहरू नियन्त्रणमा

सफल खबर संवाददाता

शनिबार, १४ चैत्र २०७७, १३ : ४१
चितवनमा स्वरूप परिवर्तन गरी चलाइएका मोटरसाईकलहरू नियन्त्रणमा

चितवन ।  चितवनमा चर्को आवाज निकाल्ने मोटरसाइकलमाथि कारबाही सुरु भएको छ । मोडिफाइ गरिएका र चर्को आवाज निकाल्ने मोटरसाइकललाई नियन्त्रणमा लिएर कारबाही गर्न सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरिक्षक दयाकृष्ण भट्टले बताए । 

ट्राफिक प्रमुख भट्टले फ्याक्ट्रीबाट उत्पादन हुँदाको स्वरुप परिवर्तन गरेर ठूलो आवाज आउने बनाउँदा ध्वनी प्रदुषणसँगै समाजमा अराजकता फैलिएकाले कारबाही सुरु गरिएको जानकारी दिए । 

मोटरसाइकलको साइलेन्सरमा रेडबुलको डिब्बा हालेर ठूलो आवाज आउने बनाउने, मोडिफाइ गर्ने कार्य कानुनविपरित भएको समेत उनले बताए । 

ट्राफिक प्रहरी कार्यालय चितवनले २० वटा मोटरसाइकल नियन्त्रणमा लिएर ५/५ हजार रुपैयाँ जरिवाना र २ घण्टा ट्राफिक नियमबारे प्रशिक्षण दिएको उनले जानकारी दिए । 

उनले प्रहरीले नियन्त्रणमा लिइएका मोडिफाइ भएको मोटरसाइकललाई पुरानै अवस्थामा लगेर छाड्ने गरेको र मोटरसाइकल मोडिफाइ गर्ने वर्कसपका कर्मचारीलाई समेत पहिलो चरणमा ट्राफिक नियमबारे प्रशिक्षण दिने र अटेर गरे कारबाही गरिने जानकारी दिएका छन् । 

यता, जिल्ला प्रहरी कार्यालय चितवनले ३१ र ईलाका प्रहरी कार्यालय रत्ननगर टाँडीले ३ गरी शुक्रबार मात्रै ३४ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार अप्रेसन चलाएर ती मोटरसाइकल नियन्त्रणमा लिइएको हो । 

प्रतिक्रिया दिनुहोस