पहिरोले माडिको परुई खोला थुनिँयो

सफल खबर संवाददाता

मंगलबार, १० चैत्र २०७७, १२ : १५
पहिरोले माडिको परुई खोला थुनिँयो

चितवन । चितवनको माडी नगरपालिका–७ को डाँडामा आएको सुख्खा पहिरोले परुई खोला थुनिएको छ । सिँचाईका लागि प्रयोग हुने कुलोमा पानी नआएपछि के भएको रहेछ भनेर हेर्न पुगेका स्थानीयले रुखबिरुवासहित ठूलो पहिरोले खोला थुनिएको देखेका थिए ।

स्थानीयका अनुसार झण्डै ३ किलोमिटर लामो र १ सय मिटर चौडाइको ताल बनेको छ । खोलाले अहिले नै पहिरो बगाउन सक्ने जस्तो देखिँदैन, तर वर्षायाममा जोखिम बढ्न सक्ने देखिन्छ । सोमेश्वर पर्वत शृंखलामा पर्ने यो क्षेत्रमा कमजोर भू–बनोट रहेकाले ‘ताल टाउकोमा झुण्डाइएको तरवार’ जस्तो भएको स्थानीय बताउँछन् ।

परुई खोला आसपासमा बस्ती छन् । केही तल चेपाङ बस्ती छ । कुसुमखोलाबाट ल्याएका चेपाङलाई माडी नगरपालिकाले यहाँ ल्याएर राखेको छ ।अहिले पहिरोले पुरिएको खोलाको बाँध फुटे घर बगाउने खतरा भएको स्थानीय छविलाल चेपाङ बताउँछन् । माडी–७ का वडाध्यक्ष बालकृष्ण सापकोटाले जोखिम बढ्न सक्ने भएकाले समयमै सतर्कता अपनाउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस