मुलुकमा शान्ति र स्थिरता स्थापनार्थ सहि नेतृत्वको आवश्यकताको लागि लडिरहेका छौँ : ऊर्जामन्त्री रायमाझी

सफल खबर संवाददाता

आइतबार, ०८ चैत्र २०७७, १७ : १७
मुलुकमा शान्ति र स्थिरता स्थापनार्थ सहि नेतृत्वको आवश्यकताको लागि लडिरहेका छौँ : ऊर्जामन्त्री रायमाझी

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्री टोपबहादुर रायमाझीले शान्ति र स्थिरताको निम्ति लडिरहेको बताएका छन् । आइतबार अखिल नेपाल किसान महासंघ राष्ट्रिय समितिको बिस्तारित बैठकमा बोल्दै ऊर्जा मन्त्री रायमाझीले मुलुकमा शान्ति र स्थिरता स्थापनार्थ सहि नेतृत्वको आवश्यकताको लागि लडिरहेको बताएका हुन् ।

आर्थिक समृद्धिमा टेवा पु¥याउन, राष्ट्रियता र राष्ट्रिय अखण्डताको पक्षमा निर्भिक रुपमा उभिन सक्ने नेतृत्व देशलाई चाहिएको र त्यसतर्फ राजनीतिक बहस केन्द्रीत भइरहेको उनको भनाई छ । उनले भने, ‘हिजो हामीहरु राजनीतिक व्यवस्था उल्ट्याउनका लागि लड्यौ भने आज शान्ति र स्थिरताको लागि सही राजनीतिक नेतृत्वको पनि आवश्यकता छ भनेर हामी लडिरहेका छौँ । हिजोको जस्तो हतियार उठाएर होइन वैचारिक लडाइँ अहिले चलिरहेको छ । तर यो लडाइँ नलड्नुपर्ने हो यतिबेला । तरपनि हिजोको लडाइँको क्षेत्रबाट आएका अवशेषहरु, ती धङधङीहरु अहिलेपनि देखा पर्छन् । केही समय रहन्छन् अझै । हिजोको धङधङी राजनीतिमा देखा परिरहेको छ । हिजो हामी को कता थियौँ छोडिदिनुस् । आज के सही हो त्यो महत्वपूर्ण कुरा हो । कुन सत्यले ? कुन पार्टीले ? कुन नेतृत्वले ? आज देशको आर्थिक समृद्धिमा टेवा पु¥याउँछ, त्यसको लागि शान्ति र स्थिरता कसले ल्याउन सक्छ ? राष्ट्र, राष्ट्रियता र राष्ट्रिय अखण्डताको रक्षा कसले गर्न सक्छ ? राष्ट्रियता र राष्ट्रिय अखण्डताको विषयमा दह्रोसँग निर्भिक भएर उभिन सक्ने नेतृत्व आज चाहिएको छ । अरुको गुलाम, अरुको कठपुतली भएर हुँदैन । त्यस्तो नेतृत्व चाहिएको छ ।’

मन्त्री रायमाझीले नेपालको कृषिलाई सामुहिक रुपमा अगाडी बढाउनुपर्ने बताए । कृषिलाई ब्यक्तिवादी र निर्वाहमुखि चिन्तनबाट माथि उठाउँदै वैज्ञानिक आधुनिकरण र व्यवसायीकरणमा लैजानुपर्ने उनको भनाई छ ।  

प्रतिक्रिया दिनुहोस