सौराहा बजारलाई डिजिटल बजार घोषणा, हरेक पसलमा क्यूआर भुक्तानीको सुविधा

सफल खबर संवाददाता

आइतबार, ०८ चैत्र २०७७, ११ : २७
सौराहा बजारलाई डिजिटल बजार घोषणा, हरेक पसलमा क्यूआर भुक्तानीको सुविधा

चितवन । पर्यटकीय नगरी सौराहालाई डिजिटल बजारका रुपमा घोषणा गरिएको छ ।  क्युआर भुक्तानीलाई तीब्र रुपमा अगाडि बढाइरहेको कुमारी बैंक लिमिटेड र फोनपे पेमेन्ट सर्भिस लिमिटेडको सहकार्यमा सौराहा बजारलाई डिजिटल बजार घोषणा गरिएको हो ।

शनिबार सौराहामा एक कार्यक्रमका बीच रत्ननगर नगरपालिकाका प्रमुख नारायण बनले उद्घाटन गरे । यो सँगै सौराहाका हरेक पसलमा क्यूआर मार्फत भुक्तानी गर्न सकिन्छ । क्युआर मार्फत भुक्तानी गर्न सकिने भएसँगै सौराहा घुम्न जाने पर्यटकहरूलाई नगद रकम बोक्नुपर्ने बाध्यताबाट मुक्ति मिलेको छ ।

कार्यक्रममा बोल्दै रत्ननगर नगरपालिका प्रमुख नारायण बनले पर्यटकीय नगरी सौराहालाई डिजिटल बजारका रुपमा विकास गर्न पाउँदा आफुहरुलाई खुसी लागेको बताए । उनले आर्थिक कारोबार डिजिटल हुँदा सुशासन र पारदर्शिता कायम हुने बताए ।

नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी  निर्देशक  भुवन कँडेलले व्यवसायीहरुलाई क्युआर कोड हस्तान्तरण गरे । कार्यक्रममा बोल्दै उनले नगदरहित कारोबारले मुलुकको अर्थतन्त्रमा पनि ठुलो टेवा पुग्ने बताए ।  कार्ड लगायतका भुक्तानीले वर्षेनी अर्बौं रुपैयाँ विदेशिने गरेको बताउदै  क्यूआर भुक्तानीले सोही रकम स्वदेशमै रहने भएकाले आफुहरुले प्राथमिकतामा राखेको बताए । 

कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले क्यूआर प्रविधिको प्रयोगसँगै व्यवसायीको व्यापार व्यवसायमा पनि बृद्धि हुने बताए । कार्यक्रममा बैंक तथा फोनपेका तर्फबाट संचालक समितिका सदस्यहरु र व्यवस्थापनका कर्मचारीहरुको पनि उपस्थिती रहेको थियो । 

प्रतिक्रिया दिनुहोस