२० वर्ष अवधि पुगेका सार्वजनिक साधनहरुलाई म्याद थप गरी सञ्चालनको अनुमति दिन माग

सफल खबर संवाददाता

विहीबार, ०५ चैत्र २०७७, १६ : २२
२० वर्ष अवधि पुगेका सार्वजनिक साधनहरुलाई म्याद थप गरी सञ्चालनको अनुमति दिन माग

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले वैकल्पिक व्यवस्था नभएसम्मका लागि २० वर्ष अवधि पुगेका सार्वजनिक साधनहरुलाई म्याद थप गरी सञ्चालनको अनुमति दिन माग गरेको छ । 

बिहीबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङलाई ज्ञापन पत्र बुझाउँदै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले वैकल्पिक व्यवस्था नभएसम्मका लागि २० वर्षे अवधि पुगेर पनि हाल सञ्चालन भइरहेका सवारी साधनहरुलाई म्याद थप गरी सञ्चालन गर्ने व्यवस्था गरिदिन अनुरोध गरेको हो ।

प्राविधिक चेकजाँचको आधारमा सञ्चालन व्यवस्था गरिदिनुपर्ने महासंघको माग रहेको छ । २० वर्षे सवारी साधनहरु विस्थापित गरिए नयाँ सवारी साधनका लागि सतप्रतिशत भन्सार छुट गरिदिनुपर्ने माग रहेको पनि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए ।

महासंघले मुल्यवृद्धिको आधारमा चैत्रको तेस्रो साताभित्र भाडा समायोजन गर्नको लागि पनि ज्ञापन पत्र बुझाएको छ । चैत्रको तेस्रो साताभित्र भाडा समायोजन नगरिए सवारी साधन नचलाउने पनि विज्ञप्तीमा उल्लेख गरिएको छ ।

ज्ञापन पत्र बुझ्दै मन्त्री नेम्बाङले ज्ञापन पत्रको सम्बन्धमा यातायात व्यवस्था विभाग सँग आवश्यक छलफल गर्ने प्रतिक्रिया दिए ।
 

प्रतिक्रिया दिनुहोस