नेपाल र भारतका बिचमा यातायात सञ्चालन गर्न सिसीएमसीले गर्यो मन्त्री परिषद्लाई सिफारिस

सफल खबर संवाददाता

विहीबार, ०५ चैत्र २०७७, १३ : २६
नेपाल र भारतका बिचमा यातायात सञ्चालन गर्न सिसीएमसीले गर्यो मन्त्री परिषद्लाई सिफारिस

file Photo

काठमाडौं । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसीएमसी)ले नेपाल र भारतका बिचमा यातायात सञ्चालन गर्न मन्त्री परिषद्लाई सिफारिस गरेको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसीएमसी) को बैठकले नेपाल र भारतबीचको यातायात सञ्चालन गर्नको निम्ति मन्त्री परिषद्लाई सिफारिस गर्ने निर्णय गरेको हो ।

नेपाल भारत यातायातका १३ वटा रुट बाट पूर्ववत् रुपमा यातायात सञ्चालनको निम्ति मन्त्रीपरिषद्लाई सिफारिस गरिएको सिसीएमसीका सचिव खगराज बरालले बताए । यात्रुहरुले पूर्ण रुपमा स्वास्थ्य मापदण्ड प्रयोग गर्नुपर्ने तथा ७२ घण्टा अगाडीको पिसिआर रिपोर्ट नेगेटिभ आएका हुनुपर्ने उनको भनाई छ ।

त्यसैगरी बैठकले नेपाल भारत सिमानामा नेपाल तर्फ भन्सार तिरेर सञ्चालन हुने भारतिय नम्बर प्लेटका यातायातका साधन पनि चलाउन दिने सिफारिस गरेको छ । गत चैत्र ११ गतेदेखि नेपालका कोभिड १९ संक्रमणका कारण लकडाउन गरिएपछि नेपाल भारत यातायात हालसम्म ठप्प रहेको छ ।

यातायातका साधन ठप्प भएपनि सिमानाबाट हजारौँको संख्यामा दैनिक रुपमा आवत् जावत् भइरहेको सन्दर्भमा यातायातका साधन पनि चलाउनको लागि पहल गरिएको सिसीएमसीका सचिव खगराज बरालले बताए ।

प्रतिक्रिया दिनुहोस