चियापान छाडेर हेलिकप्टरमा ससुराली पुगे मुख्यमन्त्री राई

सफल खबर संवाददाता

मंगलबार, ०३ चैत्र २०७७, १५ : ११
चियापान छाडेर हेलिकप्टरमा ससुराली पुगे मुख्यमन्त्री राई

काठमाडौँ । वालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गरेको चियापान कार्यक्रम छाडेर प्रदेश १ का मुख्यमन्त्री शेरधन राई हेलिकप्टरमा ससुराली पुगेका छन् । राई दम्पत्ति हेलिकप्टर अगाडि मख्ख परेर उभिएको फोटो सार्वजनिक भएको छ ।

आफूभन्दा आधा उमेर कान्छी युवतीसँग विवाहबन्धनमा बाँधिएका राई श्रीमतीका साथ हेलिकप्टर चार्टर गरेर मंगलबार ससुराली गएका हुन् । प्रधानमन्त्री ओलीनिकट भएकै कारण आफूभन्दा सिनियरलाई पछि पारेर मुख्यमन्त्री बनेका राई अविवाहित थिए । ५० वर्ष पुगेका राईले केही समयअघि भर्खर २५ वर्ष पुगेकी शेर्पासंग तामझामका साथ् विवाह गरेका थिए । उनको विवाह समारोहमा देखिएको तामझामप्रति धेरैले आलोचना पनि गरेका थिए ।

ओलीको किचेन क्याविनेटका सदस्य राईकी श्रीमती जाङ्ग्मु इन शेर्पाले फेसबुकमा फोटो शेयर गर्दै हेलिकप्टर चढेर माइती हिँडेको जानकारी गराएकी छन् । 

‘भर्खरै आफ्नो जन्मस्थल संखुवासभा मकालु गाउँपालिकाको सेदुवा र नोर्बुको भ्रमण मेरो श्रीमान माननीय शेरधन राई र सबै सपरिवारका साथ गर्न पाउँदा असाध्यै खुशी लाग्यो । म त जन्मिएको मात्रै, मेरो गाउँ अति नै सुन्दर रहेछ । सबैले न्यानो स्वागत र सत्कार गर्नुभयो, धेरै खुशी लाग्यो ।’, उनले लेखेकी छन् ।

शेर्पाले अगाडि लेखेकी छन्,  ‘मेरो गाउँ र ठाउँको लागि केही गर्नुपर्ने महसुस गरें, किनकि त्यहाँ सडक, बिधुत,शिक्षा,स्वास्थ्य र सञ्चारलगायतको पहुँचले जनतालाई जोड्न बाँकी रहेछ, अवश्य नै म र मेरो श्रीमान माननीय मुख्यमन्त्री शेरधन राईको ध्यानाकर्षण भएको छ । सबैप्रति हार्दिक आभार ब्यक्त गर्दछु ।’

प्रतिक्रिया दिनुहोस