काठमाडौंलाई पराजित गर्दै पुलिस फाइनलमा

सफल खबर संवाददाता

बुधबार, २६ फागुन २०७७, १७ : ५७
काठमाडौंलाई पराजित गर्दै पुलिस फाइनलमा

काठमाडौं । काठमाडौं मेयर्स–११ माथि १ सय ३ रनले पराजित गर्दै विभागीय टोली नेपाल पुलिस क्लब काठमाडौं मेयर्स कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा पुलिसले दिएको १ सय ९८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको काठमाडौंले ३१ ओभर २ बलमा सबै विकेट गुमाएर ९४ रन मात्र बनाउन सक्यो ।

काठमाडौंका लागि कप्तान सन्दीप लामिछानेले सर्वाधिक २६ रन बनाउँदा कृष्ण कार्कीले १९ रन, सिद्दान्त लोहनीले १८ रन जोडे । काठमाडौंका अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन ।

काठमाडौंलाई सस्तैमा समेट्न पुलिसका पवन सर्राफले ४ विकेट लिए । प्लेयर अफ दि म्याच बनेका उनले मात्र १६ रन खर्चिए । यस्तै दिपेन्द्र सिंह ऐरीले ३ तथा ललित राजवंशीले २ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले ४७ ओभर ४ बलमा अलआउट हुँदै १ सय ९७ रन बनाएको थियो । पुलिसका लागि योगेन्द्र सिंह कार्कीले सर्वाधिक ४० रन बनाए । ५५ बलमा उनले ४ चौका प्रहार गरे । यस्तै कुशल भुर्तेलले ३४ रन जोड्दा पवन सर्राफले २८ रन बनाए ।

दिपेन्द्र सिंह ऐरी २४ रनमा आउट हुँदा सुनिल धमला २२ तथा दिलिप नाथ १२ रनमा आउट भए ।काठमाडौंका लागि कप्तान सन्दीप लामिछाने, हरिशंकर साह र विपिन खत्रीले ३र३ विकेट लिए । 

प्रतियोगितामा पुलिसको यो तेस्रो जित हो । जितसँगै पुलिसले ४ खेलमा ६ अंक जोड्दै फाइनलमा पुगेको हो । पुलिसले पहिलो खेलमा बागमती प्रदेशलाई हराएको थियो । दोस्रो खेलमा एपीएफसँग पराजित पुलिसले तेस्रो खेलमा आर्मीलाई हराएको थियो ।

यता काठमाडौंको यो दोस्रो हार हो । काठमाडौंले ३ खेलमा २ अंक जोडेको छ । तेस्रो स्थानमा रहेको काठमाडौंको पनि फाइनल पुग्ने सम्भावना रहेको छ । पहिलो खेलमा बागमतीलाई हराएको काठमाडौं दोस्रो खेलमा आर्मीसँग पराजित भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस