मेलम्चीको पानी पहिलो चरणमा दुई लाख धारामा आउने

सफल खबर संवाददाता

मंगलबार, २५ फागुन २०७७, १५ : ०७
मेलम्चीको पानी पहिलो चरणमा दुई लाख धारामा आउने

सांकेतिक तस्वीर

काठमाडौँ । बहुप्रतिक्षित मेलम्चीको पानी पहिलो चरणमा काठमाडौँका दुई लाख धारामा आउने भएको छ । पहिलो चरणमा चक्रपथ भित्र र आसपासका झण्डै दुई लाख धाराका उपभोक्ताले मेलम्चीको पानी पिउन पाउने काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले जनाएको छ ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृति मिलन शाक्यले भने, ‘मेलम्चीको पानी वितरणका लागि तत्काल दुई चरणमा काम हुँदैछ। अहिले सुरुङ्गमा पानी परीक्षण तथा पानीको गुणस्तर जाँच्ने क्रम जारी छ । त्यसपछि पहिलो चरणमा पुराना एक लाख ८० हजार धारामा पानी पठाइन्छ । यस्तै दोस्रो चरणमा नयाँ विछ्याइएका झण्डै २० हजार धारामा पानी पठाउने र बाँकी धारामा परीक्षणको काम हुन्छ ।’

सिन्धुपाल्चोकको हेलम्बुबाट सुन्दरीजलमा प्रतिसेकेण्ड २६० लिटरका दरले पानी अहिले आइरहेको छ। गएको सोमबारदेखि परीक्षणका लागि पठाइएको पानी बागमतीमा हालिएकोमा अस्ति आइतबार रोकिएको थियो । आउँदो बुधबारदेखि बागमतीमा पानी हालेर पुनः परीक्षण जारी राखिने मेलम्ची आयोजनाका सूचना अधिकारी राजेन्द्र पन्तले जानकारी दिएका छन् ।

उनका अनुसार परीक्षणको काम सकेर मोटामोटी पहिलो चरणमा आउँदो वैशाख महिनाभित्रमै सर्वसाधारणको धारामा मेलम्चीको पानी वितरण गर्ने गरि काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस