नेकपाको विवाद समाधान नभएसम्म सहकार्य नगर्ने कांग्रेसको निर्णय

सफल खबर संवाददाता

विहीबार, १३ फागुन २०७७, १९ : २०
नेकपाको विवाद समाधान नभएसम्म सहकार्य नगर्ने कांग्रेसको निर्णय

काठमाडौं । नेकपामा देखिएको आन्तरिक विवादको पूरा टुंगो नलाग्दासम्म सहकार्य नगर्ने कांग्रेसले निर्णय गरेको छ । प्रमुख विपक्षी नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवाद रहेको समयमा उसका दुई वटा धारमध्ये कसैसँग पनि सहकार्य नगर्ने जनाएको छ । 

बिहीबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकमा संसद पुनर्स्थापना भएपछि उत्पन्न राजनीतिक परिस्थितिबारे समीक्षा भएको थियो । बैठकमा सभापति देउवाले नेकपाको दुबै पक्षबाट सहकार्यको प्रस्ताव आएको बताएका थिए । दुबै पक्ष कानुनीरुपमा विभाजन नभएको  र हाल एउटै पार्टी नेकपा रहेको हुनाले सहकार्य नगर्ने निर्णय कांग्रेसले गरेको छ । 

जनताले पनि प्रतिपक्षमा बस्ने म्याण्डेट दिएको हुनाले प्रतिपक्षमै बस्ने तर्क नेपाली कांग्रेसका धेरै नेताहरुले गरेका थिए । नेकपा विभाजन भएर सरकार बन्नै नसक्ने अवस्था आएमात्र यसबारे पार्टीमा छलफल गर्नु उपयुक्त हुने नेताहरुले राय दिएका छन् ।

प्रतिक्रिया दिनुहोस