फागुन १२ गतेको जनसभाको तयारी तीब्र, अध्यक्षद्वय प्रचण्ड र नेपालले सम्बोधन गर्ने

सफल खबर संवाददाता

शनिबार, ०८ फागुन २०७७, १४ : १७
फागुन १२ गतेको जनसभाको तयारी तीब्र, अध्यक्षद्वय प्रचण्ड र नेपालले सम्बोधन गर्ने

चितवन । संसद विघटनको प्रतिगामी कदमविरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संघर्ष समिति चितवनले फागुन १२ गते भरतपुर केन्द्रीय बस टर्मिनलमा आयोजना गरेको जनसभाको तयारी तीब्र पारिएको छ ।

पार्टी कार्यालय कृष्णपुरमा नेपाल कम्युनिष्ट पार्टी  (नेकपा) प्रतिगमनविरुद्ध संघर्ष समितिको शनिबार सम्पन्न बैठकले विशाल जनसभा भव्यरुपमा सफल बनाउने निर्णय गरेको हो । संयोजक तथा जिल्ला पार्टी इन्चार्ज  कृष्ण खनालको संयोजकत्वमा सम्पन्न बैठकमा केन्द्रीय सदस्य तथा बागमती प्रदेस अध्यक्ष नारायणप्रसाद दाहाल, केन्द्रीय सदस्य सूर्य सुवेदी पथिक, सहइन्चार्ज इश्वरी भट्टराई, केन्द्रीय सदस्य रेनु दाहाल,  केन्द्रीय सदस्य सालिकराम जमरकट्टेल, मनु हुमागाई लगायतले प्रतिगमन विरुद्धको आन्दोलनलाई प्रभावकारी बनाउँदै फागुन १२ गतेको बिरोध प्रदर्शन र सभालाई भब्य र प्रभावकारी बनाउने बिषयमा आआफ्नो धारणा राखेका थिए ।

आगामी बुधबार हुन गइरहेको विशाल जनसभालाई पार्टी अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल लगायतका केन्द्रीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको र सभामा ३० हजारभन्दा बढी जनसमुदाय सहभागी बनाइने जिल्ला अध्यक्ष यमबहादुर परियारले जानकारी दिए ।

पार्टीका प्रचार बिभाग प्रमुख रामचन्द्र अधिकारीका अनुसार जनसभा अघि भरतपुरका विभिन्न ठाउँबाट जुलुस निस्कनेछ । चौबिसकोठिबाट सुरु हुने जुलुसमा भरतपुर १ देखि ४, १५ देखि २० र २४ देखि २८ नम्बर वडाका जनसमुदाय सहभागी हुनेछन् । 

मालपोत चोकबाट सुरु हुने जुलुसमा कालिका नपा, ईच्छाकामना गाउँपालिका, भरतपुर १० देखि १२ र २९ नम्बर वडाका जनसमुदाय सहभागी हुनेछन् । त्यसैगरी बुद्धचोकबाट सुरु हुने जुलुसमा माडी नपा, भरतपुर ५ देखि ८, १३, १४ र २१ देखि २३ नम्बर वडाका जनसमुदाय सहभागी हुनेछन् । 

गोन्द्राङबाट सुरु हुने जुलुसमा राप्ती नपा, खैरहनि नपा, रत्ननगर नपा,र भरतपुर ९ का जनसमुदाय सहभागी हुनेछन् । यसका साथै मजदुर, युवा, बिधार्थी, महिला, दलित, सुकुम्बासी, उद्योगी, ब्यवसायी, शिक्षक, कर्मचारी, बुद्धिजीवी, समाजसेवी, नागरिक समाजका सबै जनसमुदायमा जुलुस र सभामा सहभागी हुन नेकपा चितवनले अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस