काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र प्राप्तिपछि शान्तिपूर्ण राजनीतिभन्दा अर्को बाटो हुन नसक्ने भएकाले असन्तुष्ट पक्षलाई संवादका माध्यमबाट मूलधारमा आउन आग्रह गरेका छन् । ७१ औँ प्रजातन्त्र दिवसका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले शान्तिपूर्ण लोकतान्त्रिक प्रणालीप्रतिको आफ्नो आस्था एवं विश्वास बढाउन र त्यस अभ्यासलाई आत्मसात गरी इमान्दारिताका साथ अगाडि बढ्न आग्रह गरे।
लोकतन्त्र आइसकेपछि पनि अन्य बाटोबाट अघि बढ्न सकिन्छ भन्ने तथा रोज्ने प्रवृत्ति कायम रहेको उल्लेख गर्दै उनले नेपाली जनता त्यस्ता कुराबाट सतर्क हुनुपर्ने बताए । “शान्तिपूर्ण राजनीतिको मूलधारमा आउन तथा अझै पनि यसधारमा समाहित नभइसकेका वा हुन नसकिरहेको पक्षलाई म यस अवसरमा संवादका माध्यमबाट शान्तिपूर्ण राजनीतिको मूलधारमा आउन आग्रह गर्दछु”, उनले भने।
बृहत्तर राष्ट्रिय हित र लोकतन्त्रको पक्षमा एक भएर अगाडि बढ्नुको बिकल्प नभएको उल्लेख गर्दै उनले कुनै पनि अलमलमा नपरी विगतका बलिदानलाई सम्झेर अगाडि बढ्न अपिल गरे। “सानातिना मतभेदलाई छाडेर बृहत्तर हित र स्वार्थमा एकताबद्ध भएर अगाडि बढौँ”, राष्ट्रिय एकतामा जोड दिँदै उनले भने ।
प्रधानमन्त्री ओलीले जनसङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षा गर्दै नेपाललाई एकजुट बनाएर आगामी दिनमा सुन्दर भविश्य रचना गर्ने साझा प्रयास अगाडि बढाउनुपर्ने र त्यसका लागि हाम्रा चिन्तन र व्यवहार राष्ट्रिय हितमा केन्द्रित हुनुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ फागुन २०७७, १३ : ०९
लेखकबाट थप