ओलीको गृहक्षेत्रमा कांग्रेसको सभा, प्रधानमन्त्री देउवा सहित शीर्ष नेताले सम्बोधन गर्ने

सोमबार, ११ मंसिर २०७४, १२ : ५७
ओलीको गृहक्षेत्रमा कांग्रेसको सभा,  प्रधानमन्त्री देउवा सहित शीर्ष नेताले सम्बोधन गर्ने

मंसिर ११, २०७४ झापा (दमक) ।  झापा क्षेत्र नं. ५ मा सोमबार नेपाली कांग्रेसले चुनावी सभा गर्दै छ । सभामा पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा सहितका नेताहरुले सम्बोधन गर्नेछन् ।

    यस क्षेत्रमा प्रतिनिधिसभाका लागि वाम गठबन्धनका तर्फबाट नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उम्मेदवार बनेका छन् । ओली लगातार गृह जिल्ला र क्षेत्रमा आएर चुनावी माहोल बनाउन सक्रिय भएपछि कांग्रेसले उनलाई ‘काउन्टर’ दिन सभापति सहितका शीर्ष नेताहरु ल्याउने तयारी गरेको हो ।

    सोमबारको सभामा पार्टी सभापति तथा प्रधानमन्त्री देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु गगन थापा, विश्वप्रकाश शर्मा, भीष्मराज आङदेम्बे लगायतका नेताहरुले सम्बोधन गर्ने कांग्रेस महासमिति सदस्य सुरेश सुब्बाले जानकारी दिए । कांग्रेसको सभा क्षेत्र नं. ५ अन्तर्गत प्रदेशसभाको क्षेत्र न. १ मा पर्ने गौरादह बजारमा हुँदै छ ।

   यो नेकपा एमालेको बलियो प्रभाव रहेको क्षेत्र पनि हो । संविधानसभाको निर्वाचनमा क्षेत्र नं. ६ मा पर्ने यस क्षेत्रबाट दुवै पटक नेकपा एमालेले जितेको थियो । क्षेत्र नं ५ मा कांग्रेसबाट यस पटक प्रतिनिधिसभाका लागि डा. खगेन्द्र पाण्डव अधिकारी र प्रदेशसभातर्फ अनिलकृष्ण प्रसार्इं र राजन ढुंगाना उम्मेदवार बनेका छन् ।

प्रतिक्रिया दिनुहोस