सभामुखका वकिलको गुनासो: सरकारले संसदलाई सहयोग गरेन

पत्रपत्रिकाबाट

शुक्रबार, ३० माघ २०७७, ०८ : १८
सभामुखका वकिलको गुनासो:  सरकारले संसदलाई सहयोग गरेन

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको सुनुवाइका क्रममा सभामुख अग्निप्रसाद सापकोटा तर्फका वकिलले सरकारलाई संसद्ले सहयोग गरेन भन्नु तर्कसंगत नभएको बताएका छन्। बिहीबार संवैधानिक इजलासमा बहस गर्दै अधिवक्ता श्रीकृष्ण सुवेदीले संसद् विघटन गर्दा सभामुखसँग परामर्श गर्ने अन्तर्राष्ट्रिय अभ्यासको पनि पालना नगरिएको बताए। सरकारले संसद्बाट सहयोग नपाएको भनाइ असत्य भएको दाबी गर्दै उनले थपे, ‘बरु सरकारबाट संसद्लाई सहयोग भएको थिएन।’

प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा संसद्मा समय नदिएको, संसदीय समितिमा अनुपस्थित भएको, विभिन्न जरुरी महत्वका प्रस्ताव दर्ता भए पनि त्यसमा समय नदिएको उदाहरण उनले सुनाए। २०७४ फागुन २७ र २०७७ जेठ ३१ गते दुईपटक संसद्मा मतदान हुँदा सरकारलाई संसद्ले सहयोग गरेको उनले स्पष्ट पारे।

‘पहिलो, विश्वासको मत संसद्ले दियो, दोस्रो, नेपालको परिमार्जित नक्सा संविधानको अनुसूचीमा राख्न संसद्ले सर्वसम्मत सहयोग गरेको थियो,’ उनले भने। संसद्मा सरकारले ल्याएका धेरै विधेयक पारित भए तर संसद्ले विधेयक पारित गर्न सहयोग गरेन भन्नु प्रधानमन्त्रीको गलत भनाइ भएको उनले बताए। 

कोभिड–१९ का बेला नीति तथा कार्यक्रम र बजेट पारित गर्न संसद्ले सहयोग गरेको, कोभिडका कारण मुलुकको बन्दाबन्दीमा संसद्ले सरकारलाई सघाएको, सांसद पनि मर्यादाविपरीत नभएको तर्क उनले दिए। उनले पार्टीको विवादले संसद्लाई सजाय दिएको बताए। ‘अयोध्याका राजा दशरथ सिकार खेल्न जाँदा हात्तीलाई बाँण हान्दा श्रवणकुमारलाई लागेजस्तै प्रधानमन्त्री ओली सिकार खेल्न जाँदा नेकपालाई हान्दा संसद्लाई लागेजस्तै भयो,’ उनले भने।

सजाय गल्ती गर्नेलाई दिइन्छ तर गल्ती नगर्नेलाई सजाय दिइएको बताउँदै उनले संसद् पुनःस्थापना गर्नुपर्नेमा जोड दिए। संसद् चलिरहेको अवस्थामा समेत नभएर ६ महिना संसद् बैठक स्थगित गरेर विघटन गरिएको उनको भनाइ थियो।नागरीक दैनिकमा खबर छ ।


 

प्रतिक्रिया दिनुहोस