भरतपुरमा हवाई सङ्ख्या र यात्रु बढे

रासस

विहीबार, २९ माघ २०७७, ०९ : ४०
भरतपुरमा हवाई सङ्ख्या र यात्रु बढे

चितवन । कोरोनाका कारण सुस्ताएको भरतपुरको विमानस्थलको आन्तरिक उडान अङ्ग्रेजी नयाँ वर्षसँगै उत्साहजनक रूपमा बढेको छ । सन् २०२१ को पहिलो महिना आन्तरिक उडानमा भरतपुरको दुईतर्फी यात्रु सहभागिता हवाई सेवा कम्पनीका लागि उत्साहजनक रहेको पाइएको छ ।

नागरिक उड्डयन प्राधिकरणको तथ्याङ्कअनुसार गत जनवरी महिनामा मौसमले कयौँ उडान रद्द हुँदा पनि भरतपुरमा विभिन्न एयरलाइन्सको २०५ वटा उडान र अवतरण भएका छन् । सो अवधिमा छ हजार ४७१ यात्रु भित्रिएका थिए भने छ हजार ७२२ यात्रु बाहिरिएका थिए । यस अवधिमा भरतपुर विमानस्थलबाट १३ हजार १९३ ले सेवा लिएका छन् । डिसेम्बरमा १४ हजार ८८९ यात्रुले सेवा लिएका छन् । जनवरीमा हवाई यात्रुको सङ्ख्या कम हुनुमा मौसमको खराबीले कयौँ दिनसम्म उडान रद्द हुनु मुख्य कारण रहेको भरतपुर विमानस्थलले जनाएको छ ।

विमानस्थलका प्रमुख योगेन्द्र कुँवरले कोरोनाको महामारीपछि विस्तारै तुलनात्मकरूपमा हवाई यात्रुको सङ्ख्या बढिरहेको बताउ । उनले भने “चितवनमा हवाई उडानमा खर्च गर्ने नागरिकको क्षमता बढ्दै गएको छ । कोरोनाका कारणले हवाई यात्रु थप सुरक्षित महसुस गरेका छन् ।” उनले  कोरोनाको त्रास घट्दै गएर चितवनमा पर्यटकीय गतिविधि बढ्दै गएकाले पनि हवाई यात्रु बढेको बताए ।

भरतपुरको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा एकै दिन राष्ट्रिय खेलाडी र कलाकार विमान चार्टर्ड गरेर क्रिकेट खेल्न आएका थिए । यस्ता गतिविधि बढ्दै गएमा झनै हवाई यात्रु बढ्ने प्रमुख कुँवरले जनाए । उनले कतिपय मानिसले मन्त्रालयमा एकैदिन काम सकेर फर्किन हतार भएकाले पनि हवाई यात्रा रोज्ने गरेको विचार राखे ।

भरतपुर विमानस्थलका कम्प्युटर अपरेटर उचित पौडेलका अनुसार गत वर्ष सेप्टेम्बरमा जम्मा हवाई यात्रु एक हजार ७९६, अक्टोबरमा आठ हजार ५६० र नोभेम्बरमा यो सङ्ख्या बढेर ११ हजार ७८४ पुगेको छ । मौसमको खराबीका कारण बेलाबेला पूर्वनिर्धारित उडानका तालिका प्रभावित भए पनि जनवरी महिनाको तथ्याङ्कले हवाई सेवा कम्पनीले राम्रो फाइदा कमाउन सफल रहेको देखाएको छ । 

प्रतिक्रिया दिनुहोस