नेकपाका दुबै पक्षको निर्वाचन आयोगलाई दबाब

सफल खबर संवाददाता

बुधबार, २८ माघ २०७७, १४ : ३५
नेकपाका दुबै पक्षको निर्वाचन आयोगलाई  दबाब

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका दुबै घटकले पार्टीको आधिकारिकता आफूले पाउनु पर्ने दबाब निर्वाचन आयोगमा बढाएका छन्।पछिल्ला दुई हप्तामा दुबै घटकका शीर्ष नेताहरू आयोगमा पुगेर प्रत्यक्ष रूपमा त्यस्तो दबाब बढाएका हुन्।माघ २० गते आफ्नो पक्षमा निर्णय गर्न दबाब दिन तीन पूर्वप्रधानमन्त्री दलबलसहित निर्वाचन आयोग पुगेका थिए।

प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनालसहितका नेता निर्वाचन आयोग गएर आफूहरूले आधिकारिक पार्टीको मान्यता पाउनु पर्ने जिकिर गरे।केन्द्रीय कमिटीको दुई तिहाइ बहुमत आफ्नो पक्षमा भएकाले आधिकारिक पार्टी आफूहरू नै भएको जिकिर गर्दै अन्यथा नगर्न उनीहरूले आयोगलाई चेतावनी दिएका थिए।

चुनावको तयारी कस्तो छ भन्ने बुझ्ने बहानामा प्रधानमन्त्री केपी शर्मा ओली पनि आफ्नो दलबलसहित मंगलबार निर्वाचन आयोगमा पुगे। अर्थमन्त्री बिष्णु पौडेल, पूर्वसभामुख सुवास नेम्वाङसहित नेता लिएर आयोग पुगेका प्रधानमन्त्रीले पनि आफ्नो पक्षमा दबाब बढाए।

प्रधानमन्त्री ओलीले त पार्टी दुइटा समूहमा विभाजित भएको कुरालाई नै अस्वीकार गरे। आयोग स्रोतका अनुसार उनले २०७५ साल जेठ ३ गते एकीकृत भएको पार्टीको अध्यक्ष आफू रहेको र पार्टीमा कुनै परिवर्तन नआएको बताए। उनले आफ्नो सरकार पनि बहुमतकै भएको दाबी गरे। पार्टी अध्यक्षको निर्देशनमा महासचिवले मात्र बैठक बोलाउन सक्ने भएकाले अरू कसैले गरेको बैठक र त्यसले गरेको निर्णयको कुनै अर्थ नरहेको उनले बताएका थिए।

आफूले नेतृत्व गरेको पार्टी नै आधिकारिक रहेको र त्यसैले आधिकारिकता पाउनु पर्ने प्रधानमन्त्रीको स्पष्ट संकेत रहेको आयोगका अधिकारीहरूले बताएका छन्। प्रधानमन्त्रीको टोलीलाई चुनावको तयारीबारे ब्रिफिङ गर्दा प्रमुख आयुक्त दिनेश थपलियाले सत्तारूढ दलको विवाद र त्यसमा आयोगको धारणाबारे पनि छोटकरीमा भनेका थिए। उनले माघ ११ गते आयोगले गरेको निर्णय र दुबै पक्षलाई पठाएको चिठीअनुरूप नै आयोग अघि बढ्ने जानकारी गराएका थिए।

प्रतिक्रिया दिनुहोस