म्याग्दीका मतदाताको अपेक्षा : शान्ति, विकास र समृद्धि

सोमबार, ११ मंसिर २०७४, ११ : १३
म्याग्दीका मतदाताको अपेक्षा :  शान्ति, विकास र समृद्धि


बेनी, म्याग्दी । आइतबार सम्पन्न प्रतिनिधि र प्रदेशसभाको पहिलो चरणको निर्वाचनबाट प्रतिनिधि चयन गर्नका लागि मतदान गरेका म्याग्दीका मतदाताले दिगो शान्ति, स्थिर सरकार, विकास र समृद्धिको अपेक्षा गरेका छन् ।

विगतका निर्वाचन राजनीतिक मुद्दामा केन्द्रित हुने गरेको बताउँदै मतदाताले अब राजनीतिक विषयमा नभई आर्थिक समृद्धि र विकास केन्द्रित हुन निर्वाचनबाट चुनिएर आउने प्रतिनिधिलाई सुझावसमेत दिएका छन् । बिहान ७:०० बजे बेनी नगरपालिकाको हंशवाहिनी मतदान केन्द्रबाट सबैभन्दा पहिला मतदान गर्नुभएका ९६ वर्षीय रणबहादुर सुवेदीले देशमा शान्ति र विकास भएको हेर्न चाहेको बताए। “देशमा धेरै व्यवस्था फेरिए, धेरै पटक भोट हालेँ”– बयोवृद्ध सुवेदीले भने, “तर जनताको अवस्थामा सुधार र जिल्लाको विकास भने हुन सकेन, अब चुनिने जनप्रतिनिधिले विकास र समृद्धिलाई नै पहिलो प्राथमिकता दिनुपर्छ ।”

सोही मतदान केन्द्रबाट पहिलो पटक मतदान गरेकी रुपा सापकोटाले निर्वाचन जितेर आउने प्रतिनिधिले जनताका आवश्यकता र जिल्लाको विकासलाई ध्यानमा राखेर काम गर्नुपर्ने बताउँदै आफ्नो मतको सदुपयोग गरिदिन आग्रह गरे । ज्यामरुककोटको अर्जुन मावि मतदान केन्द्रबाट मतदान गरेका नारायण शर्माले नागरिक अधिकारको सदुपयोग गर्न र योग्य जनप्रतिनिधिको छनोट गर्न आफूले मतदान गरेको बताए ।

जिल्लाका ७२ मतदान स्थल र १०६ वटा मतदान केन्द्रबाट बिहान ७:०० बजेदेखि मतदान शुरु भएको थियो । सबै मतदान केन्द्र र मतदान स्थलमा शान्तिपूर्णरुपमा निर्वाचन सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय म्याग्दीले जनाएको छ । जिल्लाका सबै मतदान स्थल र केन्द्रमा वृद्धवृद्धा,अपांगता भएका, अशक्त महिलालाई सबैभन्दा पहिला मतदान गराइएको थियो ।

 

प्रतिक्रिया दिनुहोस