सत्यमोहन जोशीको तस्वीराङ्कित हुलाक टिकटमा राष्ट्रपतिबाट टाँचा प्रदान

सफल खबर संवाददाता

मंगलबार, २० माघ २०७७, १६ : ४५
सत्यमोहन जोशीको तस्वीराङ्कित हुलाक टिकटमा राष्ट्रपतिबाट टाँचा प्रदान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको तस्वीराङ्कित हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गरेकी छिन् ।

फिलाटेलिक तथा हुलाक टिकट व्यवस्थापन कार्यालयद्वारा आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपतिले जोशीको तस्वीराङ्कित हुलाक टिकटमा टाँचा प्रदान गरेकी हुन् ।

जोशीको तस्वीराङ्कित रु १० को हुलाक टिकट १० लाख थान छापिएको हुलाक टिकट व्यवस्थापन कार्यालयले जनाएको छ । 

गत आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शताब्दी पुरुष  जोशीको तस्वीराङ्कित छपाइ भइआएको हुलाक टिकट प्रकाशन गर्न स्वीकृत दिने निर्णय गरेको थियो । गत चैत ९ गतेको मन्त्रिपरिषद् बैठकले सन् २०२० को फिलाटेलिक कार्यक्रम स्वीकृत गर्दै हुलाक टिकट प्रकाशन गर्ने निर्णय गरेको थियो । 

कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले जोशीद्वारा लिखित  पाँच पुस्तक र जोशीले सिर्जना गरेका गीतसङ्ग्रह ‘क्रान्तिका लहर’ नामक सिडी राष्ट्रपतिसमक्ष अर्पण गरेका थिए । 

 

प्रतिक्रिया दिनुहोस