काठमाडौं । देशको अहिलेसम्मकै ठूलो क्षमताको ढल्केबर सबस्टेशनलाई पूर्णरूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको छ । सबस्टेशनको आज प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्रधानमन्त्री ओलीले आज मध्याह्न सबस्टेशनको उदघाटन गर्न लागेका हुन् । त्यसका लागि उनी नेपाली सेनाको हेलिकप्टरमार्फत् आज धनुषा जाँदैछन् ।
धनुषामा करिब डेढ घण्टा बिताएर उनी सिरहाको कार्यक्रममा सहभागी हुने कार्यक्रम तय भएको छ । ‘मौसम अनुकूल भए प्रधानमन्त्रीज्यू सवा ११ बजेसम्म ढल्केबर आइसक्ने भन्ने छ,’ धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले भने, ‘यहाँ करिब डेढ घण्टा बिताउने भन्ने पूर्वनिर्धारित तालिका छ ।’ उदघाटन समारोहपछि प्रधानमन्त्री ओली सिरहा हुँदै काठमाडौं फर्किने कार्यक्रम छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार हाल ढल्केबरमा १६० एमभीएका दुई र ३१५ एमभीएको एक गरी ६३५ एमभीएका ट्रान्सफर्मर जडान भएका छन्। यस्तै कूल ४००÷२२० केभी क्षमताको सबस्टेशनमा ३१५ एमभीए क्षमताका तीन वटा गरी ९४५ एमभीए क्षमताको पावर ट्रान्सफर्मर छन्, जसले करिब ९०० मेगावाट विद्युतलाई प्रसारण गर्न सक्दछन् ।
ढल्केबर सबस्टेशन बनेसँगै नेपाल–भारतबीच करिब एक हजार मेगावाट विद्युत् आयात–निर्यातका लागि पूर्वाधार तयार भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
प्राधिकरण प्रसारण निर्देशनालयका अनुसार ढल्केबर–मुजफ्फपुर प्रसारण लाइनमार्फत भारतीय पक्षसँग भएको सम्झौताअनुसार थप बिजुलीसमेत आयात गर्न सकिन्छ । मुलुकभित्र खपत हुन नसकेको विद्युत् भारत निर्यात गर्न पनि सकिने छ । दुई मुलुकबीच इनर्जी बैकिङ गर्नसमेत बाटो खुल्ने प्राधिकरणले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ माघ २०७७, १० : ५५
लेखकबाट थप