काजीबाको निधनले नेकपा चितवन मर्माहत

सफल खबर संवाददाता

मंगलबार, १३ माघ २०७७, १४ : ३९
काजीबाको निधनले नेकपा चितवन मर्माहत

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कार्यालय चितवनले मंगलबार शोक वक्तव्य जारी गर्दै पार्टीका केन्द्रीय सल्लाहकार सदस्य, नेपाली कम्युनिष्ट आन्दोलनका धरोहर, भरतपुर महानगरपालिका वाड नं. ६ केशरवाग निवासी खम्बासिंह कुँवर (काजीबा) को मंगलबार भएको निधनले पार्टी अत्यन्त मर्माहत एवम् दु्ःखी भएको जनाएको छ । 

नेकपा चितवनका अध्यक्ष यमबहादुर परियार इन्द्रजित र सचिव कृष्णभक्त पोखरेलबाट जारी शोक वक्तव्यमा काजीबाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्र्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना प्रकट गरिएको छ ।

शोक वक्तव्यमा भनिएको छ, ‘वि.सं १९८२ साल वैशाख १० गते जन्मिनुभएका कमरेड काजी बा २०१५ सालदेखि लम्जुङको तत्कालीन बाँग्रे गाविसबाट बसाइँसराइ गरी चितवनमा रहँदै आउनुभएको थियो । चितवनको वामपन्थी राजनीतिका अगुवा, तत्कालीन नेकपा (चौम) का पोलिटव्युरो सदस्यलगायत कम्युनिष्ट आन्दोलनका विभिन्न चरणमा केन्द्रीय स्तरका विभिन्न जिम्मेवारी निर्वाह गरिसक्नुभएका कमरेड काजी बा अत्यन्त सरल जीवनशैलीका अलावा कुशल संगठक हुनुहुन्थ्यो । २०११ सालदेखि उहाँले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी पुष्पलाल समूहमा रहेर राजनीतिक जीवन सुरुवात गर्नुभएको थियो । कमरेड काजीबाको निधनले नेपालको वामपन्थी आन्दोलनमा ठूलो क्षति पुगेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवन शोकलाई शक्तिमा बदल्दै वर्तमान अवस्थामा पार्टीभित्र देखा परेको दक्षिणपन्थी अवसरवाद, प्रतिगमनका विरुद्ध अझ तीव्रताका साथ संघर्षमा लाग्न आम जनसमुदायमा हार्दिक अपिल गर्दछ ।’

प्रतिक्रिया दिनुहोस