झलनाथ खनाल र देउवाबीच बुढानिलकण्ठमा गोप्य भेटवार्ता

सफल खबर संवाददाता

आइतबार, ११ माघ २०७७, ०८ : ४५
झलनाथ खनाल र देउवाबीच बुढानिलकण्ठमा गोप्य भेटवार्ता

काठमाडौं । पूर्व प्रधानमन्त्रीद्वय नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपाका वरिष्ठ नेता झलनाथ खनालबीच गोप्य भेटवार्ता भएको छ। कांग्रेस सभापति देउवाको निवास बुढानिलकण्ठमा यी दुई पूर्वप्रधानमन्त्रीका बीचमा शनिबार साँझ ५ बजेदेखि ७ बजेसम्म गोप्य भेटवार्ता भएको हो ।

देउवालाई भेट्न खनाल बुढानिलकन्ठ टेलिफोन गरेर समय मिलाएर पुगेका थिए । देउवालाई नेकपाको अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र माधव नेपालले प्रधानमन्त्री केपी ओलीले असंवैधानिक रुपमा गरेको प्रतिनिधिसभा विघटनको विरुद्द संयुक्त संर्घषमा आउन आग्रह गरिरहेका छन्। तर देउवाले संयुक्त कार्यक्रममा अहिलेसम्म रुची देखाइरहेका छैनन् ।

खनाल ओलीको प्रतिगमनका विरुद्ध सडक संर्घष गरिरहेको प्रचण्ड नेपाल समूहकै वरिष्ठ नेता हुन् । उनी प्रचण्ड र नेपालसँग दिउँसो पेरिसडाँडास्थित पार्टी कार्यलयमा छलफल गरेरै देउवालाई भेट्न बुढानिलकन्ठ पुगेका थिए । ओलीलाई संसद विघटनको अधिकार नभएको भन्दै प्रचण्ड नेपाल पक्ष संसद पुनस्र्थापना हुनुपर्ने पक्षमा छन् । अहिले यो मुद्दा सर्वाेच्चको संवैधानिक इजालसमा बहसमा छ । यसको बहस आज पनि जारी नै हुनेछ ।

देउवा ओलीको कदम असंवैधानिक भएको निश्कर्षमा रहे पनि संसद पुनस्र्थापनाको पक्षमा दृढतापूर्वक उभिइसकेका छैनन् । अदालतमा रहेको विषय अदालतले गर्ने निर्णयलाई छोड्नुपर्ने भन्दै देउवा चुनावतिर आँखा लगाइरहेका छन् । नेकपा विभाजन भएको र त्यसको फाइदा चुनाव भए आफूहरुले लिन सक्ने र चुनावमा कांग्रेसलाई पहिलो दल बनाउन सकिए पार्टी महाधिवशेन अलिक लम्बाएर आफै सभापति उठेर जित्ने मनसायका साथ देउवा संयुक्त संर्घषमा जान हिचकिचाइरहेका छन् ।

तर कांग्रेसभित्रको रामचन्द्र पौडेल पक्ष र कृष्णप्रसाद सिटौला पक्ष भने पहिले संसद पुनस्र्थापनाको मुद्दामा जोड गर्नुपर्ने पक्षमा छ । आन्दोलनका कार्यक्रम बनाउनुपर्ने पक्षमा यो खेमा छ । पार्टीभित्रै चर्काे दबाब खेपिरहेका बेला देउवासँग नेकपाको वरिष्ठ नेता झलनाथ खनालको भएको गोप्य भेटवार्ता अर्थपूर्ण रहेको छ ।

केन्द्रमा संर्घषका विषयमा मात्र होइन, प्रदेश सरकारका विषयमा पनि प्रचण्ड नेपाल पक्षले कांग्रेसको साथ खोजिरहेका छन् । अहिले प्रदेश १ र बागमति प्रदेशका मुख्यमन्त्रीविरुद्ध प्रदेश सभामा अविश्वास प्रस्ताव प्रचण्ड नेपाल पक्षका सांसदहरुले राखेका छन् । त्यसमा कांग्रेसको साथ र समर्थन प्रचण्ड –नेपाल पक्षले खोजिरहेका छन् ।

देउवाले प्रदेश सभामा कांग्रेसले अरुलाई सघाउने भन्दा पनि जसले मुख्यमन्त्री दिन्छ उसैलाई साथ लिने बताउन थालिरहेका बेला देउवा र खनालबीच भेटवार्ता भएको हो । देउवालाई प्रचण्ड नेपाल पक्षले सडक संर्घषदेखि सत्ता सहकार्यसम्मको प्रस्ताव गरिसकेका छन् । प्रचण्ड र नेपालले पनि देउवालाई यस बीचमा भेटेर संसद पुर्नस्थापनाको एजेण्डामा संयुक्त संर्घषका कार्यक्रम बनाएर अगाडि जाऔँं, पुनस्र्थापना भएपछि प्रधानमन्त्री बन्नेदेखि प्रदेश सरकारसम्म मिलेर जानेसम्मका अफर गरिसकेका छन् ।

‘हामीले देउवालाई सडक संर्घषदेखि सत्ता सहकार्यसम्मको प्रस्ताव गरिसकेका छौं, तर उनी अझै अलमलमा हुनुहुन्छ,’ प्रचण्ड नेपाल समुहका एक नेताले सफलखवरसँग भने, ‘वरिष्ठ नेता खनालको देउवासँगको भेटवार्ता पनि त्यसैको प्रयास हो ।’ खनालले देउवासँग प्रदेश १ को सरकार गठनमा आफूहरुले राखेको अविश्वास प्रस्तावमा साथ दिन पनि आग्रह गरेको बुझिएको छ । देउवाले प्रदेश १ को सवालमा के गर्ने भन्ने विषयमा पार्टीका वरिष्ठ नेताहरुसँग गरेको परामर्शमा देउवाले प्रचण्ड नेपालले अगाडि सारेका उम्मेदवार भीम आचार्य कांग्रेस विरोधी भएकोले सहयोग गर्न नसक्ने प्रतिक्रिया दिएका थिए ।

आचार्य वरिष्ठ नेता झलनाथ खनालसँग नजिक मानिन्छन् । सोही कारण पनि खनाल आचार्यको नाममा मनाउन पनि देउवासँगको छलफलका लागि बुढानिलकन्ठ पुगेको हुन सक्ने बताइएको छ । खनालले भने देउवासँगको भेटका बारेमा औपचारिक रुपमा मुख खोलेका छैनन् ।

 

प्रतिक्रिया दिनुहोस