प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध अभियानको अब ‘बालुवाटार मार्च’

सफल खबर संवाददाता

शनिबार, १० माघ २०७७, ११ : ५६
प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध अभियानको अब ‘बालुवाटार मार्च’

काठमाडौं । बृहत् नागरिक आन्दोलनले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध सोमबार ‘बालुवाटार मार्च’ कार्यक्रम गर्ने भएको छ । अभियानको तर्फबाट युग पाठकले जारी गरेको विज्ञप्तिमासबै कवि, लेखक, कलाकार, संगीतकर्मी, बौद्धिक, पेशाकर्मी एवम् नागरिक अभियन्ताहरुलाई सहभागिताका लागि अनुरोध गरिएको छ । 

‘प्रतिनिधिसभा विघटन लगायत सबै प्रकारका प्रतिगमनको विरुद्ध सशक्त प्रतिकार गर्दै मुलुकलाई स्वस्थ र न्यायपूर्ण बाटोमा फर्काउने हामी सबै सचेत नागरिकको कर्तव्यवोध सडकमै प्रदर्शित हुनु आवश्यक रहेकोमा हामी जोड दिन चाहन्छौं’, अभियानले भनेको छ । अभियानका अनुसार कमलपोखरी बचाउ अभियानका अभियन्ताहरुबाट माटोको टिका लगाएर कमलपोखरीबाट बालुवाटारसम्म मार्चपास हुनेछ । दिउँसो २ बजेदेखि हुने मार्चपासका क्रममा कलात्मक प्रस्तुति समेत रहने बताइएको छ । 

‘प्रतिगमनविरुद्ध प्रतिरोध’का क्रममा अभियानले यसअघि माइतिघर मण्डलाका प्रदर्शनहरुपछि प्रज्ञा डबलीमा नागरिक सभासमेत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस